खाेज्नुहाेस

कैलालीमा आजदेखि खोप कार्ड अनिवार्य

Image

अत्तरिया – कैलालीमा आज देखि कोरोना विरुद्ध लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले पुस २८ गते जारी गरेको आदेश अनुसार आज देखि खोप कार्ड अनिवार्य गर्न लागिएको हो । उक्त आदेशमा सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यान लगायतमा जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख थियो ।

यसैबिच बिहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) बैठकले पनि खोप कार्डको नियम कडाइका साथ लागु गर्ने निर्णय गरेको गरेको छ । कोरोनाको जोखिम बढे पछि बसेको बैठकले थप २५ निर्णय गर्दै कडाइका साथ लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

attariya hospital

बैठकले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने कृयाकलाप माघ मसान्त सम्म संचालनमा रोक लगाउने निर्णय गरेको छ । गोष्ठी सेमिनार, समिक्षा बैठक जस्ता क्रियाकलापहरु संचालन गर्दा पनि भर्चुअल माध्यमबाट नर्गे बैठकले निर्णय गरेको छ । बैठकले नेपाल भारत सीमा भएर भारतमा अत्यावश्यक काम बाहेक सामान किनमेल लगायतका अन्य कामले सीमानाकामा ओहोरदोहोर गर्न समेत रोक लगाएको छ ।

navjiwan hospital

यस्तै स्वास्थ्य कार्यालय धनगढीले जिल्लाका १३ वटै स्थानीय तहसंग समन्वय गरी कोभिड–१९ विरुद्धको खोप लगाउन छुट भएका व्यक्तिहरुलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि बैठकले निर्णय गरेको छ ।

सपिङ मल, डिपार्टमेण्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल संचालन गर्दा २५ जना भन्दा बढी भेला हुन नपाईन, सामाजिक दूरी कायम हुनुपर्ने, मास्कको अनिवार्य प्रयोग गरिनुपर्ने लगायतमा मापदण्ड अनिवार्य पालना गर्नु पर्ने छ । यस्तै रंगशालामा दर्शक सहितको खेलकुद कार्यक्रम संचालन गर्दा कुल क्षमताको एक तिहाई मात्र उपस्थित रहने गरी संचालन गर्नुपर्ने डिसीसीएमसीको बैठकले निर्णय गरेको छ ।

सार्वजनिक सवारी साधनमा पनि सिट भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने, चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनु पर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने पर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकले होटल तथा रेष्टुरेण्ट संचालनका लागि पनि मापदण्ड जारी गरेको छ । जसमा होटल रेष्टुरेण्टमा काम गर्नेले अनिवार्य रुपमा मास्क, फेस सिल्ड र पन्जा लगाउनु पर्ने, सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, कुल क्षमताको आधा बढी नहुने गरी संचालन गर्नुपर्ने, सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, सेवाग्राही मास्क नलगाई आएमा बढीमा ५ रुपयाँमा मास्क वितरण गर्नुपर्ने, होटलमा चेक इन गरेको २४ घण्टा भित्रमा एन्टिजेन परिक्षण गर्ने र त्यसपछि प्रत्येक ७२ घण्टामा एन्टिजेन परिक्षण गर्ने लगायतका मापदण्ड लागु गर्ने निर्णय गरिएको छ ।