खाेज्नुहाेस

बैतडीको दोगडाकेदार क्षेत्र संचार विहिन

Image

बैतडी –चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदार स्थित खोचलेक, श्रीभावर, कठपते लगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।

नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको नेकपा (एमाले) दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले बताए ।

attariya hospital
navjiwan hospital

‘एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ,’ उनले भने‚ ‘बैंकिङ काम र अन्य कामबाट पनि बञ्चित हुनु परेको छ ।’ नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराए पनि हालसम्म मर्मत नभएको स्थानीयको गुनासो छ ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पु-याएकाले नेटवर्कमा समस्या आएको बताए । खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए ।

उनले धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको बताए । ‘प्राविधिक टोली दुईदिनदेखि टावर मर्मतमै छ,’ प्रमुख टमटाले भने‚ ‘आवश्यक केही सामान जिल्लामा उपलब्ध समस्या भएको छ, एक दुई दिनभित्रै समस्या समाधन हुन्छ ।’