अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा जोखिम संवेदनशिल भु–उपयोग योजना तर्जुमा सम्बन्धी तयार पारिएको मस्यौदा माथी छलफल गरिएको छ ।
अमेरिकी सहयोग नियोग युएसएआईडीको तयार नेपाल परियोजनाको सहयोगमा राजदेवी ईन्जिनियरिङ्ग कन्सल्टेन्ट प्रा.ली ले तयार पारेको मस्यौदामाथी बिहिबार छलफल गरिएको हो ।

नगरभित्र रहेका जोखिम संवेदनशिल क्षेत्रहरुको पहिचान गर्दै ईन्जिनियर तपेन्द्र बहादुर खड्काको नेतृत्वमा रहेको टिमले मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामा नगरभित्र रहेका जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको र ति क्षेत्रहरुको भु–उपयोग कसरी गर्न सकिन्छ भन्ने कुराहरु समावेश गरिएको ईन्जिनियर तपेन्द्र बहादुर खड्काले बताए ।
उनले मस्यौदामा जोखिममाथी बस्दा पनि कसरी सुरक्षित बन्न सकिन्छ भन्ने कुरा पनि समावेश गरिएको बताए । नगरपालिकाले जनतालाई सेवासुविधा दिनुका साथै सुरक्षित राख्न पनि ऐन नियम तथा योजनाहरु बनाउनुपर्ने उनको भनाई छ ।

यस्तै जियो डेक्निकल ईन्जिनियर डा. सुमन मानन्धरले विपद्को लेखाजोखा गर्दै जोखिम भएका क्षेत्रहरुको पहिचान गरी त्यसमा कसरी वस्तीविकाश गर्ने भन्ने बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।
उनले भविष्यमा जोखिम हुन सक्ने स्थानहरुको पहिचान गरी त्यसमा कसरी बस्तीको विकाश हुन सक्छ भन्ने बारेमा योजनाको टिमले तयार पारेको मस्यौदाका बारेमा कार्यक्रममा जानकारी दिईएको बताए । उनले मस्यौदामा नगरका क्षेत्रहरुलाई तिन तहमा विभाजीत गरीएको बताए ।
जसमा अति जोखिमपुर्ण क्षेत्रलाई रातो, मध्यम जोखिमपुर्ण क्षेत्रलाई पहेलो र सुरक्षित क्षेत्रलाई हरियो कलरले छुट्याईएको उनले बताए । नगरपालिकालाई नमुना नगरपालिकाका रुपमा विकाश गर्न युएसएआईडीले मस्यौदा तयार गर्न लगाएको उनले बताए ।
उनले गोदावरी नगरपालिकालाई लक्षित गरी विपद् न्युनिकरण सम्बन्धी तयार पारिएको मस्यौदाले नगरलाई नमुना र स्मार्ट बनाउन मद्दत गर्ने पनि बताए ।
उक्त कार्यक्रममा नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद सहित नगरपालिका कार्यालयका कर्मचारी, १२ वटै वडाका जनप्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिवि एवम् अपांगता भएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।


















