अत्तरिया – कैलालीको अत्तरियाम हुने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले मंगलबार देखि आयोजना गर्न लागेको महोत्सव एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित गरिएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघले एक प्रेश विज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाइएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाद्धारा जारी विज्ञप्तीमा महोत्सवको तयारी पुरा भइसकेको भएपनि महोत्सव स्थगित गरिएको उल्लेख छ ।


‘पूर्ण तयार हुँदा हुँदै पनि अचानक देशमा बृद्धि भएको कोभिड –१९ को तेस्रो लहर ओमिक्रोन भाइरस तिब्र रुपमा फैलिन गएको देशभरीका स्वास्थ्य आँकडाबाट स्पष्ट हुन गएको छ’ विज्ञप्तीमा अगाडी भनिएको छ ‘यसरी पूर्ण तयारी भइसकेको अवस्था एकातिर छ भने अर्कोतिर ओमिक्रोनको बढ्दो संक्रमणको लहर चलिरहदा मानविय स्वास्थ्य भन्दा आर्थिक नोक्सानी ठूलो हुन सक्दैन भन्ने उच्च मनोवलका साथ देशभरीका मेला महोत्सव, सरकारी निर्णय सम्पूण बस्तू स्थितिलाई नजर अन्दाज गरी आफ्नो तर्फबाट संक्रमण रोकथामका लागि यस संघको आयोजनामा हुने भनिएको सुदूरपश्चिम महोत्सव २०७८ स्थगित भएको व्यहोरा जानकारीका लागि हार्दिक अनुरोध गरिन्छ ।’

यसैबिच अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष देवकोटाले कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस भनेर स्थगित गर्न लागिएको बताए । उनले महोत्सवका लागि सबै तयारी पुरा भएको भएपनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको बताए ।
उनले हाल महोत्सवका लागि तयार गरिएका संरचना पनि कार्यसमितिको बैठकबाट निर्णय गरेर हटाइने बताए । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।


















