कञ्चनपुर – कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेको संख्या एक लाख ९७ हजार २३३ पुगेको छ ।
स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिशिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या २७ हजार ४०० छ ।


कोभिशिल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ । खोपको पहिलो मात्रा लगाउनेको संख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६५ प्रतिशत छ ।
बिहीबार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । ‘माघ महिनादेखि नियमित रुपमा अन्य खोप जस्तै कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ’ अधिकृत कुवँरले भने, ‘बिदाको दिनबाहेक हप्ताको छ वटै दिन पालिकामार्फत खोप लगाउनका लागि योजना बनाउँदैछौँ ।’ कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए ।
‘तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाई सकिएका छौ’ उनले भने, ‘अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ ।’ भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ ।
रासस














