अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
यही पौष ३ गतेदेखी सुरु भएको संस्थाको साधारण सभा आईतबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष सुमित्रा सोपको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिह साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले सहकारीहरुले सहज रुपमा ऋण प्रदान गरी महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गरेको बताए ।
‘पहिला पहिला हामी बैंकबाट ऋण लिदाँ महिनौ कुर्नुपथ्र्याे, ५ प्रतिशत वा ७ प्रतिशत दिएर बल्ल ऋण पाईन्थ्यो’ उनले भने ‘तर सहकारीहरुको अवधारणा आएसँगै त्यस्तो समस्या हटेको छ ।’
उनले सहकारीलाई माथी उकास्न सबैको सहयोग र सहकार्य उत्तिकै आवश्यक हुने बताए । सहकारी एउटा खेती भएको र जहिले पनि टिप्न सकिने उनले बताए ।
‘यो एउटा खेती हो, जहिले पनि टिप्न सक्छौ हामी’ उनले भने ‘हामीले एक चोटी रोपिसकेपछि हामी नरहेपनि हाम्रा पुस्ता पिढिहरुले यसलाई टिप्न सक्छन, त्यो खालको वृक्ष हो यो ।’
सहकारी नामको वृक्षलाई कसरी वृहत रुपमा अगाडी बढाउने भन्ने तिर ध्यान दिन जरुरी रहेको उनले बताए । उनले सहकारीलाई स्थानियतहबाट पनि सक्दो सहयोग रहने बताए ।
यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख रत्ना कडायतले महिलाहरुलाई चुलोचौकोबाट बाहिर निकाल्न सहकारीहरुले मद्दत गरेको बताईन् ।
उनले सहकारीहरुका कारण समाजमा महिलाहरुले पनि केही गर्न सक्छन भन्ने मानसिकता बनेको बताईन । सहकारीहरुले महिलाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुलाई आत्मनिर्भर बन्न प्रोत्साहित गर्ने गरेको उनले बताईन ।
उनले महिलाहरुले चुलोचौकोमा मात्रै सिमित नभई देशको नेतृत्व तहमा पनि पुग्न आवश्यक रहेको बताईन ।
कार्यक्रममा संस्था स्थापना तथा संस्थाको वृहत्तर विकासमा सहयोग पु-याउने व्यक्तिहरुका साथै विभिन्न विद्यामा उत्कृष्ट बनेका सदस्यहरुलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिवेदन संस्थाकी अध्यक्ष सुमित्रा सोपले, आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम संस्थाकी कोषाध्यक्ष पार्वती बुढाथोकीले, आन्तरिक लेखा परिक्षण प्रतिवेदन संस्थाकी लेखा समिति संयोजक सविना तामाङ्गले र वाह्य लेखा परिक्षण प्रतिवेदन संस्थाकी सहव्यवस्थापक बिन्दु शाहले प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी, महिला शाखा प्रमुख गोदावरी धामी, सुदूरपश्चिम प्रदेश परिक्षा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख ईश्वरी दत्त पन्त लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् संस्थाका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।
संस्थाकी उपाध्यक्ष लिलावती सिँहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिईन ।
२०५९ सालमा २५ जना महिलाहरुद्धारा संकलित १ लाख शेयरपुँजिबाट सुरु भएको सहकारीमा आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म २ हजार ४ सय १८ शेयरसदस्य र १ करोड ६१ लाख ५० हजार शेयरपुँजी रहेको छ ।
सहकारीले सदस्यहरुको जिवनमा परिवर्तन ल्याउने सहकारी सचेतना तालीमहरु ल्याउने, संस्थामा आवद्ध सदस्यहरुको आर्थिक स्तरमा बृद्धि ल्याउने, होजियारी कारखाना खोली तयारी सामान उत्पादन र बिक्रि गर्ने लगायतका महत्वपुर्ण योजनाहरु अगाडी सारेको छ ।
कोरोना भाईरसको महामारीका कारण संस्थाले चरणवद्ध रुपमा साधारण सभा आयोजना गरेको थियो ।

करिब १४ करोड बराबरको कारोवार
संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त भित्र करिब १४ करोड बराबरको आर्थिक कारोबार गरेको छ । संस्थाको आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म कुल १३ करोड ७३ लाख ४ हजार ८ सय ७९ रुपैयाको कारोबार गरेको छ । गत वर्षको तुलनामा यस वर्ष संस्थाले २ करोड ६२ लाख ९४ हजार १ सय ७ रुपैया बढीको कारोबार गरेको संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले बताईन ।
उनका अनुसार संस्थाले उक्त कारोबार बाट ६२ लाख ५६ हजार १ सय ८१ रुपैया खुद नाफा आर्जन गरेको छ ।
संस्थाको नयाँ भवनको उद्घाटन
यसैबिच संस्थाको नयाँ भवनको पनि उद्घाटन गरिएको छ । नगरप्रमुख हरि सिँ साउँदले रिबन काटेर नयाँ भवनको उद्घाटन गरेका हुन । पुरानो भवनमा सहकारीमा आवद्ध सेवाग्राहीहरुलाई सेवाप्रवाह गर्नमा समस्या भएपछि सहकारीले २ तले नयाँ भवन निर्माण गरेको संस्थाकी अध्यक्ष सुमित्रा सोपले बताईन ।

करिब ३६ लाखको लागतमा प्रि–फ्याब प्यानलबाट सहकारीको २ तले नयाँ भवन निर्माण गरिएको थियो । हाल सहकारीको सेवा प्रवाह नयाँ भवनबाटै सञ्चालन भैरहेको उनले बताईन ।















