नेपालमा जनवरी पहिलो साताबाट कोरोनाको बुष्टर डोज लगाउने तयारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विश्व संगठनले अनुमति दिए जनवरी पहिलो हप्ताबाट बुष्टर डोज लगाउन थाल्ने बताएका छन् । बुधबार मन्त्रालयको प्रेस बिफ्रिङमा खतिवडाले यस्तो बताएका हुन् ।
उनले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप लगाउने बताए । ‘विश्व संगठन लगाउनु भन्यो भने जनवरी पहिलो साताबाट कोभिड विरुद्धको बुष्टर डोज खोप लगाउन सुरु गर्नेछौँ,’उनले भने ।
उनले नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्नको लागि ९ देशबाट आउन प्रतिबन्ध लगाएको बताउँदै सिमानाकामा पनि कडाइ गरेको बताए ।
उनले भने, ‘ठूला बोर्डरहरूमा आवतजावत गर्दा खोप लगाएको कार्डअनुसार मात्रै छिराउने गरेका छौँ,यसमा सजग रहनुहोला ।’ उनले महामारी लडाइँका लागि पूर्व–तयारी पनि गरिरहेको बताए ।