काठमाण्डौं – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ ।
सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक डकुमेन्टमाथि घनिभूत छलफल हुनेछ । त्यसका लागि अहिले प्रचण्ड डकुमेन्ट लेख्न व्यस्त छन् ।


महराले नयाँ क्रान्तिकारी नयाँ पार्टी र क्रान्तिकारी नयाँ विचार निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै २१औं शताब्दीसम्म आइपुग्दा अहिलेको परिस्थितिमा परिवर्तन आएको बताए । राष्ट्रिय सम्मेलनमा पार्टीले भोगेका सम्पूर्ण विषयमाथि पनि समीक्षा हुने महराले बताए ।
‘हामी किन साना भयौं, ठूलो हुँदा के ग-यौं भन्ने लगायतका विषयमा राष्ट्रिय सम्मेलनमा छलफल गर्नेछौं’, महराले भने, ‘फरक पार्टी बनाउन खोजेका छौं, फरक भनेको जनवादी केन्द्रीयता नै हो ।’
महराले राष्ट्रिय सम्मेलनको प्रचारप्रसार पनि तीव्र पारिएको बताए । भक्तपुर, ललितपुर र काठमाडौमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्ने लगायतका काम सुरु भएको छ ।
सम्मेलनमा प्रदेश, सल्लाहकार, विभाग, आयोग, जेष्ठ मञ्च, भ्रातृ संगसंगठनलगायतबाट समेत गरी करिब १५०० प्रतिनिधि सहभागी हुनेछन् ।
















