टीकापुर – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गुणस्तर नपुगेको भन्दै धान खरिदको काम स्थगन गरेको छ । कैलालीको टीकापुर–८ सत्तीमा कम्पनीले बुधबारदेखि धान खरिद सुरु गरेको थियो । एक दिनमा करिब १ सय क्विन्टल जति खरिद भएको कम्पनीको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
बिग्रिएको धान परेको भन्दै कम्पनीले बिहीबारदेखि नै खरिद बन्द गरेको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष रामलाल डगौरा थारुले बताए । उनले भने, ‘सामान्य बिग्रेको धान पनि किन्न नमानेपछि किसानले विरोध गरे, त्यसपछि कम्पनीले खरिद कार्य रोकेको हो ।’


कम्पनीले सुरुमा राम्रो केही धान किनेको र किसानले सबैको धान किन्नुपर्ने दबाब दिएपछि खरिद नै रोकिदिएको वडाध्यक्ष डगौराको भनाइ छ । कम्पनीको सुदूरपश्चिम कार्यालयका प्रमुख इन्जिला बस्नेतले कम्पनीको तोकेको मापदण्ड अनुसारको गुणस्तर भएको धान मात्र खरिद गर्ने व्यवस्था रहेको बताइन ।
कम्पनीले सरकारले निर्धारण गरेको मूल्यमा धान खरिदका लागि पानीले नभिजेको, माटो परालको टुक्रा पोक्टा नमिसिएको सफा धान हुनुपर्ने मापदण्ड बनाएको छ । खरिद केन्द्रमा कम्पनीका प्राविधिकले जाँच गरेपछि मात्र सरकारले तोकेको मुल्यमा खरिद हुने जनाएको छ । तर किसानहरूले भने किसानको धान किन्ने पर्ने माग गर्न थालेपछि कम्पनी खरिद बन्द गरेको स्थानीयले बताए ।
उनले यहाँको धान खरिद रोकिएको विषयमा सुदूरपश्चिम प्रदेशकी कृषि मन्त्री विनिता चौधरीलाई जानकारी गराएको बताए । धान खरीदबारे संघीय सरकारबाटै निर्णय भएकाले आफूले यसबारे केही गर्न नसक्ने मन्त्री चौधरीबाट जवाफ पाएको वडाध्यक्ष डगौराले बताए ।
धान बेच्न आएका किसान रामबहादुर चौधरीले बल्ल बल्ल जोगाएको धान खाद्यले नकिन्दा साहु महाजनलाई बेच्नुपर्ने र उनीहरूले मनपरी मूल्य लगाउने बताए ।


















