अत्तरिया – सुदूरपश्चिम प्रदेशकी भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरीले सहकारीका माध्यमले महिलाहरु आत्मनिर्भर बन्न सफल भएको बताएकी छिन । बुधबार कैलालीको गोदावरी नगरपालिका – ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारण सभाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन ।
उनले दुरदराजका महिलाहरुलाई सहज रुपमा बिउविजन तथा अन्य आवश्यक कुराहरु उपलब्ध गराई कृषिमार्फत आयआर्जन र आत्मनिर्भर बन्न सहकारीहरुले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताईन ।

‘महिलाहरुलाई विभिन्न माध्यमबाट सक्षम बनाई उनीहरुलाई आत्मनिर्भर बन्न सहकारीले कार्यक्रम चलाईरहेको हुँदा यो सहकारी एउटा नमुनाको रुपमा देखिएको छ’ उनले भनीन ‘किनकी प्रदेशको प्रवेशद्धारमा महिलाको सहकारी, त्यसमध्ये पनि महिलाहरुको सहकारी र सबै जातजाती समावेश भएको तथा किसान वर्गका महिलाहरुको सहभागीता रहेको सहकारीका रुपमा यसलाई हेर्न सकिन्छ ।’
सहकारीका माध्यमबाट महिलाहरुको तिब्र रुपमा क्षमता विकास भएको देखिएको उनले बताईन । केही वर्ष अघि आउँदा स्टेजमा जान हिचकिचाई रहेका महिलाहरु यसपटक भने निसंकोच स्टेजमा गएर आफ्नो सहकारीका बारेमा बोल्न सकेको देखेर आफुलाई आश्चर्य लागेको उनले बताईन ।
महिलाहरुलाई राजनितिमा आउन पनि सहकारीहरुले भूमिका खेल्ने उनले बताईन । उनले राज्यको कुनै पनि अंगमा पुग्नको लागी राजनीतिमा लाग्न अनिवार्य भएको बताउदै राजनितिक उचाईमा पुगेपछि महिलाहरुलाई लागी काम गर्न सकिने बताईन ।
उनले सहकारीको प्रगतीको कामना गर्दै सहकारीलाई सहयोग गर्न आफु सदैव कटिबद्ध रहने बताईन । यसैगरी कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारीले सहकारीहरुले विपन्न वर्गको आर्थिक उन्नतीम महत्वपुर्ण भुमिका खेलेको बताए ।
उनले साहु महाजनले लिने चर्काे ब्याजदरमा कमी गर्दै सहकारीहरुले किसानलाई कृषि कर्जा मार्फत सहुलियत दरमा ऋण प्रदान गरेर उनिहरुलाई आत्मनिर्भर बन्न अभिप्रेरित गरेको बताए । उनले जुन उद्देश्यले महिलाहरुले सहकारीको स्थापना गरेका हुन त्यो उद्देश्य पुरा हुने विश्वास व्यक्त गरे ।


साधारण सभा समापन
संस्थाले एक औपचारीक कार्यक्रमका बिच सोमबार साधारण सभा समापन गरेको हो । संस्थाकी अध्यक्ष लक्ष्मी विनाडीको सभापतित्वमा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि राज्यमन्त्री चौधरी रहेकी थिईन भने विशिष्ठ अतिथि वडाध्यक्ष अधिकारी र किसान २ परियोजनाकी एरिया कोर्डिनेटर सुचिता उप्रेती रहेकी थिईन ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी एवम् समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिवेदन अध्यक्ष विनाडीले प्रस्तुत गरेकी थिईन भने संस्थाको वार्षिक बजेट तथा कार्यक्रम कोषाध्यक्ष भावना खड्काले प्रस्तुत गरेकी थिईन ।
यसैगरी संस्थाको आन्तरिक लेखापरिक्षण प्रतिवेदन संस्थाकी लेखा समिति संयोजक गिता खड्काले प्रस्तुत गरेकी थिईन ।
सभाको समापन कार्यक्रममा संस्थालाई विभिन्न विधामा सहयोग पु-याउने तथा संस्थाको कार्यसम्पादनमा सहजता ल्याउने ४४ जना तथा १३ समुहलाई सम्मानित गरिएको थियो । संस्थाकी कर्मचारी हरु पनेरुले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक गौरी चौधरीले गरेकी थिईन ।
संस्थामा सदस्यहरुको संख्या बढी भएको र कोरोनाको जोखिम कायमै रहेका कारण समुहका प्रतिनिधिहरु बोलाएर साधारण सभा आयोजना गरेको संस्थाकी अध्यक्ष लक्ष्मी विनाडीले बताईन ।
यही मंसिर १७ गतेदेखी विभिन्न टोलहरुमा गई समुहहरुको टोलभेला गराएर सुरु गरेको साधारण सभा समुहका प्रतिनिधिहरुको उपस्थितिमा बुधबार समापन गरेको उनले बताईन ।
२०५९ सालमा स्थापना भएको सहकारीले महिलाहरुको आर्थिक स्तरोन्नती र आत्मनिर्भरतालाई आफ्नो मुख्य लक्ष्य बनाएको उनले बताईन । ४५ जना महिला सदस्यहरुले प्रतिव्यक्ति रु. १ सयका दरले शेयर संकलन गरी जम्मा ४ हजार ५ सय शेयरपुजिँबाट सञ्चालीत सहकारीमा आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म २ करोड ६ लाख ३७ हजार २ सय रुपैया शेयरपुँजी रहेको छ ।
संस्थाका शेयरसदस्यहरु पनि गत आर्थिक वर्षमा १९१९ रहेकामा आर्थिक वर्ष २०७७/०७८ मा बढेर २२५७ जना पुगेका छन । संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्ममा कुल १६ करोड ३१ लाख २७ हजार ५ सय ७७ रुपैयाको कुल कारोबार गरेको छ भने ४१ लाख ४७ हजार २ सय ४५ रुपैया शुद्ध नाफा कमाएको छ ।
संस्थाले आगामी आर्थिक वर्षमा संस्थामा आवद्ध सदस्यहरुलाई सहकारी शिक्षा र ऋण तथा बचतका बारेमा अभिमुखीकरण गर्ने, सदस्यहरुको आम्दानीको स्तर बृद्धि गर्न स्रोतहरुको खोजी गर्ने, आवश्यकता अनुसार सस्तो दरमा रकम जुटाउन पहल गर्ने, कृषकहरुका लागी बंगुर पालन तालीम सञ्चालन गर्ने, किसानहरुको उत्पादन विक्रि वितरणका लागी सुपथ मुल्य पसल सञ्चालन गर्ने लगायतका उद्देश्यहरु लिएको छ ।














