कञ्चनपुर – शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि कञ्चनपुरको एउटा विद्यालय बन्द गरिएको छ ।
शिक्षक र विद्यार्थीसँगै अभिभावकमा समेत कोभिडको संक्रमण पुष्टि भएपछि जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रहेको कृष्ण आधारभूत विद्यालय बन्द गरिएको हो ।

विद्यालयका २ शिक्षक र कक्षा ५ मा अध्ययनरत एक ११ वर्षिय विद्यार्थीका साथै उनकी आमामा पनि संक्रमण पुष्टि भएपछि सोमबारबाट विद्यालय बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए ।

उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए ।
उनिहरुलाई संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका १० जना शिक्षकहरुको कोरोना परिक्षण गर्दा उनिहरुमा भने संक्रमण नदेखिएको उनले बताए ।
दुई तीन दिनदेखि ज्वरो आइरहेको बालकको स्वाब परीक्षण गर्दा संक्रमण देखिएको थियो । त्यसलगत्तै उनकी आमामा पनि संक्रमण पुष्टि भएको हो । दोस्रो लहरको कोभिड संक्रमण कम भएपछि विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो ।


















