९ देशबाट नेपाल आउन रोक
काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै सरकारले ९ वटा देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सचिवालयका एक सदस्यका अनुसार शुक्रबार रातिदेखि लागू हुनेगरी ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले यसअघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई ’अनअराइभल’ भिसा नदिन अध्यागमन विभागलाई निर्देशन दिएको थियो । पछिल्लो समय ओमिक्रोनको जोखिम झन् झन् बढ्न थालेपछि गृह मन्त्रालयले अध्यागमन विभागसँग छलफल गरेर जोखिम रहेका देशबाट आउने यात्रुहरुलाई रोक लगाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अहिले विश्वका दुई दर्जन बढी देशमा देखा परिसकेको छ । छिमेकी देश भारतमा पनि ओमिक्रोन भेरियन्टका दुई जना संक्रमित भेटिएको त्यहाँका अधिकारीहरुले पुष्टि गरेका छन् ।