अत्तरिया – नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत बिहीबार देखि प्रदेश अधिवेशन सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन सुरु भएको हो । सातै प्रदेशमा हुने प्रदेशस्तरीय अधिवेशनको प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गरेका थिए ।
सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन सुरु भएको हो । प्रदेशका ९ वटै जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, बझाङ अछाम र बाजुराका प्रतिनिधिहरु धनगढी पुगिसकेका छन् ।

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि आकांक्षी कांग्रेस नेताहरुले दौडधुप तीव्र बनाएका छन् । आकांक्षीहरु उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् । अछामका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, बझाङ घर भएका पूर्वराज्यमन्त्री तथा पूर्वराजदूत अर्जुनजंगबहादुर सिंह र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष डोटीका नेता पुष्पकुमार शाहीले प्रदेश सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन् ।
लगातार दुई कार्यकालदेखि कांग्रेस कैलालीको सभापति रहेका नरनारायण शाह र कैलालीकै लम्कीका हिमबहादुर रावलले पनि प्रदेश सभापतिमा उमेदवारी घोषणा गरेका छन् । तर सभापतिमा देउवा र पौडेल पक्षको साझा उमेदवारको खोजी भइरहेको छ ।

डोटीका कांग्रेस नेता वीरबहादुर बलायरलाई प्रदेश सभापतिमा साझा उम्मेदवारका रुपमा अगाडि बढाउने तयारी भइरहेको जनाएको छ ।
यसैबिच आधिवेशनको दोस्रो दिन शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने तालिका रहेको छ । शनिबार निर्वाचन हुने कार्यतालिका रहेको छ । कांग्रेसले हालको विधान अनुसार आफ्नो संरचनालाई पहिलो पटक प्रदेश तहमा कार्यान्वयन गर्न लागेको हो । अधिवेशनले प्रदेश कार्यसमिति चयन गर्ने छ ।
प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ । चुनाव शनिबार हुनेछ ।
प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनस् मतदान गर्नुपर्ने व्यवस्था छ । प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन् ।



















