सचिवसहित सुदूरपश्चिमबाट २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा
धनगढी– सुदूरपश्चिम प्रदेशबाट एक जना सचिवसहित २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा समेटिएका छन् । एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा समेटिएका हुन् । नेकपा एमाले केन्द्रीय कमिटी सचिवमा कैलालीका लेखराज भट्ट निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा अछामका भीम रावलसहित २५ जना निर्वाचित भएका छन् । रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। तर, उनले केन्द्रीय सदस्यको शपथ ग्रहण भने गरेका छैनन् ।
कैलालीबाट केन्द्रीय सदस्यमा नारद मुनी राना, लीला भण्डारी, कमला वली, सन्तोष शर्मा थापा, झपट रावल, गौरीशंकर चौधरी रहेका छन् । यस्तै केन्द्रीय अनुसन्धान आयोगको सदस्यमा कैलालीकै लक्ष्मी शाही चयन भएका छन् ।
कञ्चनपुरबाट निरु पाल, राजेन्द्र रावल र नरबहादुर धामी केन्द्रीय सदस्यमा चयन भएका छन्। बाजुराबाट कर्णबहादुर थापा, लालबहादुर थापा, वसुन्धरा रोकाय, प्रकाश शाह र दयालबहादुर शाही केन्द्रीय सदस्यमा चयन भएका छन् ।
बैतडीबाट लिलाधर भट्ट, डडेल्धुराबाट पठानसिंह बोहरा, डोटीबाट गौरी वली, दार्चुलाबाट गणेश ठगुन्ना तथा बझाङबाट अफिलाल ओखेडा र भैरवबहादुर सिंह केन्द्रीय सदस्यमा चयन भएका छन् ।
नेकपा एमालेको महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका २१० जनाले भाग लिएका थिए ।
सोमध्ये २३ जना पदेन महाधिवेशन प्रतिनिधि रहेका थिए । पदेनमा केन्द्रीय कमिटी, विभाग र जनवर्गीय संगठनबाट रहेका थिए ।
१८७ जना भने १६ वटा निर्वाचन क्षेत्र, मजदुर, दलित क्षेत्र र प्रदेश तथा केन्द्रीय कमिटीबाट मनोनीत थिए । महाधिवेशनमा कैलालीका सबैभन्दा बढी निर्वाचन क्षेत्र र दलितबाट ४८ जना प्रतिनिधि रहेका थिए ।
