दार्चुला – दार्चुलाको छाङ्गरु र तिन्करमा जनगणना गर्न जाने टोलीलाई भारतले अवरोध गरेको छ । उक्त गाउँमा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने भएपनि भारतले अनुमति नदिदा जनगणनाको काम प्रभावित भएको हो ।
व्यास गाउँपालिका – १ मा पर्ने छाङ्ग्रु र तिन्कर गाउँमा पुग्न नेपालबाट सडक मार्ग नहुँदा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

‘पैदल हिँड्ने गोरेटो पनि ध्वस्त भएको छ । भारतको बाटो हिँड्नुको विकल्प छैन । गणकहरूले त्यहीँ बाटो हिँड्ने अनुमति पाएका छैनन् रे’ व्यास गाउँपालिका १ का वडाअध्यक्ष अशोक सिंह बोहराले भने ‘अनुमति कहिले आउँछन् टुङ्गो छैन । धेरै ढिला भयो भने गाउँलेहरू सपरिवार बसाइँ सर्न थाल्छन ।’ त्सस क्षेत्रका बासिन्दा चिसो बढेपछि बेसी झर्ने गरेका छन ।
सरकारी कामका लागि भारतीय पक्षसँग अनुमति माग्ने गरेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन् । अनुमति स्वीकृत भएको खण्डमा तोकिएको सङ्ख्याअनुरूप मानिसलाई प्रवेश पत्र दिइने गरिएको छ ।

जोशीका अनुसार जनगणनाका लागि गत कार्तिक २५ गते एकजना गणक पठाउनेगरी पिथौरागढ जिल्ला अधिकारीसँग अनुमति मागिएको थियो ।
‘एक साता बित्दा पनि उताबाट जबाफ आएन । हामीले पुनः मङ्सिर एक गते दुईजना कर्मचारीका लागि पास माग्यौँ । जबाफ त आयो तर अनुमति पाएनौँ’ जोशीले भनिन्, ‘जुन बाटो हुँदै छाङ्ग्रु पुगिन्छ त्यो बाटो बिग्रिएको जानकारी पायौँ ।’ भारतले सडक अवरुद्ध भएको जनाउँदै तत्काल अनुमति दिन नसक्ने बताएको हो ।
सूचीका अनुसार दुई गाउँमा गरी ११५ र एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घर छन् ।
जिल्लाका सहायक जनगणना अधिकृत खगेन्द्र कार्कीका अनुसार छाङ्ग्रु र तिन्करसम्म कर्मचारीलाई पैदल पठाउनु असम्भव छ । हिँडेर त्यहाँ पुग्न करिब छ दिन लाग्ने तर, हिँड्ने बाटो पनि जोखिमपूर्ण रहेको उनले बताए ।
विभागका उपनिर्देशक हेमराज रेग्मीले पनि आवश्यक परेको खण्डमा हेलिकप्टर मार्फत् भए पनि गणक पठाउने बताए ।सुरक्षाका दृष्टिकोणले संवेदनशील भएकाले भारतले उक्त क्षेत्र प्रयोग अनुमति नदिएको उनको कथन छ ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समाविष्ट गरी नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच तनाव बढेको थियो ।


















