दार्चुला – गत असारदेखि अवरुद्व पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ ।
अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका बिरामी अपिहिमाल–५ तिम्लामा सडक अवरुद्व हुँदा मारमा परेका छन् ।

बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परेको अपिहिमाल–३ का विरा रोकायाले बताए । बिरामीलाई गोकुलेश्वर, दार्चुला सदरमुकाम खलङ्गा र धनगढी लैजान घण्टौँ बोक्नुपर्ने अवस्था छ ।

ठेकेदारले सडक पुनःनिर्माणमा चासो नदिँदा समस्या भोग्नुपरेको छ । ‘नजिक अस्पताल छैन्, जटिलखालका बिरामीलाई अन्यत्र लैजान समस्या छ’ रोकायाले भने ।
खण्डेश्वरीका धीरज बोहरा लामो समयदेखि सडक पुनःनिर्माण नगर्दा बिरामीले समयमै उपचार पाउन नसकेको बताउछन् । सडक खुलाउन ढिलाइ गर्दा यहाँका बासिन्दालाई सास्ती भएको छ । उक्त क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् ।
सरकारले घोषणा गरेको दश शैय्याको अस्पताल निर्माण हुनसकेको छैन् । अहिले स्वास्थ्यचौकीका भरमा उपचार गर्नुपरिरहेको अपिहिमाल गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए । सडक पुनःनिर्माण नहुँदा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्ससमेत प्रयोगविहीन बनेको छ । सो एम्बुलेन्स मकरीगाडमै थन्किएको छ ।
रासस



















