धनगढी – एक साता अधि परेको बेमौसमी वर्षापछि आएको बाढीले घर भत्काईदिएपछि कैलालीको दक्षिणी क्षेत्रका बाढीपीडिको हुलाकी सडकमा बास भएको छ । उत्तरतर्फबाट बग्ने कान्द्रा र दक्षिणतर्फबाट बग्ने मोहना नदी उर्लिएर आएको बाढीले घर भत्काईदिएपछि उनीहरुको हुलाकी सडक नै बास भएको हो ।
जिल्लाको भजनी नगरपालिका–७, हिम्मतपुरका १८ बढी घरधुरीको बास अहिले हुलाकी सडकमा छ । उनीहरु पाल टाँगेर सडकमै खाँदै बस्दै आएका छन् ।

स्थानीय बुढनी कुमालले भनिन्, ‘बाढीले घर नष्ट गरीदियो । अहिले हिलाम्य छ । हुलाकी सडकलाई सुरक्षित मानेर यहाँ आएर बसेका छौं ।’ उनले राहतको नाममा चाउचाउ र पानी मात्र पाएको बताईन् । अहिले हामी घर फर्कन सक्दैनौं उनले भनिन्, केही समय अझ समय लाग्छ । सरकारले टेन्ट बनाउन पाल दिएको भए हामीलाई सुत्न सजिलो हुन्थ्यौं ।’
सोही ठाउँकी सीतारानी चौधरीले बाढीले घरमा क्षति पु¥याएपछि हुलाकी सडकको बास सुरु भएको बताइन् । ‘घर पुरै भत्किएको छ । त्यहाँ पूरा हिलाम्य छ ।’ उनले भनिन्, ‘घर मर्मत नभएसम्म यही बस्नुपर्ने हो । सरकारले पाल दिएको भए सडकमै भएपनि अलि राम्रो टेन्ट बनाउथ्यौं ।’
हुलाकी सडक बन्यौं खेरान
बाढीले खेतबारी हिलाम्य भएपछि भिजेको धान थ्रेसिङ्ग गर्ने थलो किसानका लागि हुलाकी सडक बनेको छ । हुलाकी सडक अन्तर्गत धनगढी उप–महानगरपालिका वडा नम्बर १९ देखि टीकापुर नगरपालिका सबै क्षेत्रका किसानलाई धान थ्रेसिङ्ग गर्ने खेरान हुलाकी सडक बनेको हो ।

कैलारी गाउँपालिका–७, भुइयाफाँटाका चन्द चौधरीले भने, ‘जमिन सबै हिलाम्य छ । हुलाकी सडकले धान थ्रेसिङ्ग गर्न । पराल सुकाउन, धान सुकाउँन धेरै सजिलो भएको छ ।’
भजनी नगरपालिका–७ हिम्मतपुरकी सीतारानी चौधरीले धान थ्रेसिङ्ग गर्ने, पराल र धान सुकाउँदै दिनभर हुलाकी सडकमा बिताउने बताइन् । उनले भनिन्, दिनभर धानका कारण यही हुन्छौ । रात परेपछि घर भत्किएको हुँदा यही बस्छौं ।’
अधियाँमा धान लगाउनेको चिन्ता–आफैंलाई खान छैन, मालिकलाई के दिने ?
मंगलबार कैलारी गाउँपालिका–७, छुट्की बसन्ता पुग्दा सीता चौधरी केही दिन अघि परेको बेमौसमी वर्षाले भिजाएको धान पल्टाउँदै थिइन् । हिलाम्य खेतमा हिलैहिलो भएकी उनी भिजेको धान सकिनसकी फर्काइरहेकी थिइन् । कटैनी र मोहना नदीको बिचमा दुई बिगाह क्षेत्रफल बटैयामा लिएर धान खेती गर्दै आएकी सीता चौधरीको धान पल्टाउदै जाँदा उनको पीडा थपिदै गरेको मुहारबाट प्रष्ट हुन्थ्यो ।
असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म लगातार परेको बेमौसमी वर्षापछि आएको बाढीले उनको आधाभन्दा बढी काटेर राखेको धान बगाएर लगेको सीताको भनाई छ । ‘आधाभन्दा बढी धान बगाएर लग्यौं । बाँकी रहेको धान पल्टाउँदै गर्दा मन रोइरहेको छ ।’ सीताले भनिन्, ‘आफ्नै खेत भएको भए केही मान्दैनथ्यौं । बटैयामा लिएर खेती गरीरहेका छौं ।
अब जग्गा धनीले के भन्ला अर्को वर्ष खेत दिन्छ कि दिदैन होला त्यसैले बढी चिन्ताले सताएको छ ।’ उनले भनिन्, ‘हामीसंग घरबास मात्र छ । बटैयामा लिएको जमिनमै उत्पादन भएको धान जमिन मालिकलाई दिएर बचेको बेचेर घर खर्च चलाउन्थ्यो. । बाडेर आएको धान खान्थ्यौं । बचेको बेच्थ्यौं ।’ उनले धान पल्टाउँदै जाँदा सबै उम्रीएको बताइन् ।
कैलारी गाउँपालिका–७ भुइयाफाँटाका चन्द्र चौधरीको अवस्था पनि त्यस्तै छ । उनले बटैयामा १५ कट्ठामा लगाएको आधा धान बाढीले बगाएको र आधा धान पटान गरेको बताए । ‘आधा बगायो । आधा पटान गरीदियो ।’ चन्द्र चौधरीले भने, ‘आफूले के खाने चिन्ता त छदैछ । अब जमिन मालिक आए के भन्ने । चिन्तामाथि चिन्ता बेमौसमी वर्षाले थपिदिएको छ ।’

महगियो थ्रेसरको भाँडा
बाढीका कारण धान बिग्रिए पनि त्यसलाई प्रयोग गर्न सकिन्छ कि भनेर अहिले धान थ्रेसिङ्गमा व्यस्त छन् । किसानले दैनिक ज्याला तिरेर धान थ्रेसिङ्गमा जुटेको अवस्थामा ज्याला महँगिएका कारण किसान चिन्तित भएका छन् ।
अघिल्लो वर्षसम्म १८ भाग धान किसान र एक भाग थ्रेसर धनीले लिने गरेका थिए । तर, बाढीले धानको गुणस्तर गुमाएका कैलालीका किसानले १४ भाग धान किसान र एक भाग थ्रेसर धनीले लिने गरेका छन् ।
धनगढी उपमहानगरपालिका–१५, उर्माका महेश चौधरीले भने, ‘गत वर्ष १८/१९ (१८ भाग दाना किसान र एक भाग दाना) थ्रेसरधनीले लिन्थे । अहिले १४÷१५ तिर्नुपरेको छ । यो वर्ष थ्रेसरको मूल्य अत्याधिक बढेको छ ।’
धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रमा किसानले १०/१२ सम्ममा थ्रेसर प्रयोग गर्न बाध्य छन् ।
कैलारी गाउँपालिका वडा नम्बर ४ का बेजुराम चौधरीले १६/१७ मा धान थ्रेसर प्रयोग गरेको बताए । उनले भने, ‘गत वर्ष १८÷१९ मा थे्रसिङ्ग गराएको थिए । अहिले महँगो भएको छ ।’
कृषि निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले कृषि उपकरण प्रयोग गर्दा मूल्य निर्धारण गर्ने निकाय नभएको बताए । उनले कृषि उपकरण प्रयोग मूल्य कसले निर्धारण गर्ने भन्ने संरचना नभएको बताए । उनले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्र्तगत रहेको आपूर्ति महाशाखाले यस्ता कुरामा ध्यान दिनुपर्ने बताए ।
धानमा सवा ८ अर्बको क्षति
बेमौसमी वर्षाका कारण धानबालीमा करिब ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार सात वटै प्रदेशका १९ जिल्लामा उक्त रकम बराबरको धानबाली क्षति भएको हो ।
मन्त्रालयको प्रारम्भिक विवरण अनुसार ८५ हजार ५८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । सो क्षेत्रफलमा लगाइएको बालीमा भएको क्षतिबाट ३ लाख २५ हजार २५९ टन धानमा क्षति पुगेको मन्त्रालयको अनुमान छ ।
मन्त्रालयको प्रारम्भिक प्रक्षेपण अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा र त्यसपछि सुदूरपश्चिम प्रदेशमा भएको छ ।
लुम्बिनी प्रदेशमा १० हजार ५८४ हेक्टर क्षेत्रफल जमिनमा लगाएको धानबाली क्षति भएको छ । लुम्बिनीमा ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा नराम्रो असर परेको पनि मन्त्रालयको प्रक्षेपण छ ।
लुम्बिनीमा असर परेको र क्षति भएको गरी कुल ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
सुूरपश्चिममा ५५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा नराम्रो असर पुगेको र ६८ हजार ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति भएको मन्त्रालयको प्रक्षेपण छ । मन्त्रालयका अनुसार सुदूरपश्चिममा १ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रदेश १ मा ८० करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदेश २ मा ५६ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमानित तथ्यांक छ। बागमती प्रदेशमा ५ करोड ८० लाख, गण्डकीमा १३ करोड रुपैयाँ तथा कर्णालीमा ३० करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमान छ ।
मन्त्रालयका अनुसार प्रदेश १ का झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा र सर्लाही, बागमतीका चितवन र नुवाकोटमा धानबालीमा क्षति पुगेको छ । त्यस्तै गण्डकीका स्याङ्जा र कास्की, लुम्बिनीका बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देही तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा भएको क्षति तथ्यांकमा समेटिएको छ । मन्त्रालयले प्रारम्भिक क्षतिको तथ्यांक सार्वजनिक गरे पनि गाउँमा भएको क्षतिको विवरण काठमाडौंबाटै संकलन गरेकाले क्षतिको यकिन विवरण आउनेमा किसानहरुले नै शंका गरेका छन् ।
सरकारले पनि धानबालीमा भएको क्षतिको विवरण संकलन गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई ३ दिनभित्र क्षतिको विवरण संकलन गरी प्रस्तुत गर्न समयसीमा दिइएको छ ।

















