बैतडी – बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहत स्वरूप १ लाख ५० हजार रुपैयाँ राहत सहयोग गरेको छ । शिवनाथ ६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत प्रदान गरेको हो ।
एकै परिवारका तीनैजनाको कात्तिक २ गते पहिरोमा पुरिएर मुत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष कर्ण साउद र उपाध्यक्ष कुस्मा चन्दल गायतको टोलीले पीडितको घरमै पुगेर आज १ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।


गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएबमोजिम राहत प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष चन्दले बताइन् ।
गाउँपालिकाका तर्फबाट जनही ५० हजारका दरले नगद प्रदान गरिएको र खाद्यान्न सामग्री पनि वितरण गरिएको हो ।
यसअघि शिवनाथमा पहिरोबाट मृत्यु भएका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले पनि राहतस्वरुप १ लाख २० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराएको थियो ।
















