
दार्चुला – बेमौसमी बर्षाका कारण दार्चुलामा ८ सय ६ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । जिल्लामा धान रोपाई गरिएको ४ हजार ४ सय ८० हेक्टर जमिन मध्ये ८ सय ६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षेति पुगेको हो ।
कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लाका विभिन्न स्थानीय तहको डाटा संकलन गर्दा ८ सय ६ हेक्टर धानबालीमा क्षेति पुगेको पाइएको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिएका छन ।
बेमौसमी बर्षाका कारण यो वर्ष २ हजार ९ सय ८२ मेट्रिक टन धान उत्पादनमा ह्रास हुने अनुमान गरिएको छ । जिल्लामा ११ हजार २ सय मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको थियो ।
अन्य वर्षको भन्दा पनि यस वर्ष जिल्लामा मनसुन सक्रिय भएकै कारण समयमै जिल्लाका सवै सिंचित क्षेत्रमा धान रोपाई शत प्रतिशत सम्पन्न भएको भएपनि बेमौसमी बर्षाका कारण दार्चुलामा धानखेतिमा ठूलो क्षेति भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
दार्चुलाको महाकाली नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका तथा मार्मा गाउँपालिकामा अधिकांश क्षेत्रमा रोपाइ हुने गरेको छ ।



















