खाेज्नुहाेस

चाउचाउ बिस्कुटको भरमा बाढीपीडित

Image

टीकापुर — कैलालीको टीकापुर नगरपालिका–८ बनगाउँकी चाँदनी चौधरी शनिबार दिउँसो नुन किन्न नजिकैको सत्ती बजार निस्कँदै थिइन । बैमौसमी बाढीले घरका सबै समान डुबानमा परेपछि नुनको खोजीमा निस्केको उनले सुनाइन । ‘विभिन्न संघसंस्थाले चाउचाउ र बिस्कुट दिएका छन । यसले कति दिन भोक टार्न सकिएला ?,’ उनले भनिन्, ‘४ दिनदेखि चाउचाउ र बिस्कुटको भरमा छौं ।’

श्रीमान् कामका लागि भारत गएपछि उनी दुई बच्चासहित घरमा बस्दै आएकी थिइन । ‘घरमा बाढी पसेपछि बच्चा भने धन्न जोगाउन सके,’ चाँदनीले भनिन । टीकारपुर–८ कै १२ वर्षीया निर्जला चौधरीले शनिबार बिहान चाउचाउको झोलसित भात खाएको सुनाइन । उनले भनिन्, ‘तरकारी केही नभएपछि चाउचाउको झोल र भात पकाएर खायौं ।’

attariya hospital
navjiwan hospital

बाढी पीडित परिवारको चार दिनदेखि सडकमै बास छ । घरमा पूरै हिलोमाटो भएकाले सडकमा बस्नुपरेको स्थानीय चेचुराम थारूले बताए । उनका अनुसार कतिपय परिवार सडकमा केही कर्णालीको पुलमा पनि रात बिताउने गरेका छन । पानी घटे पनि घरमा गएर बस्न अझै ३÷४ दिन लाग्ने उनले बताए । ‘गाउँमा एउटा उच्चो घर त छ । तर ३० जना जति मात्र अटाउँछन् । त्यो घरमा बालबच्चा र बूढापाकालाई राखेका छौं । अलि जवानहरू रोडमा र पुलमा सुत्छौं,’ उनले भने ।

डुबानमा परेका घरमा तत्काल फर्केर बस्न सक्ने अवस्था नरहेको जनप्रतिनिधिहरूको भनाइ छ । टीकापुर–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले भने, ‘ज–जसको घर फर्कने अवस्था छैन । उनीहरू अझै रोड, सेल्टर र विद्यालयमा बसिरहेका छन ।’

कान्तिपुरबाट साभार