टीकापुरमा बाढीले विस्थापित भएका परिवार अझै घर फर्किन सकेनन्

टीकापुर – बाढीले विस्थापित भएका कैलालीको टीकापुरका ३ सय ९५ परिवार अझै घर फर्किन सकेका छैनन । कर्णाली नदीको बाढीले घर बगाएपछि आश्रय खोज्दै विद्यालय लगायत बिभिन्न ठाउँमा बसेका पीडित अझै घर फर्किन नसकेका हुन ।

maya metro hospital

उनीहरु सबै विद्यालय भवन, सुरक्षित आश्रय स्थल र आफन्तकोमा बसिरहेका टीकापुर नगरपालिका विपद व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले जानकारी दिइन् ।

बाढीका कारण घर गुमाउनेमा टीकापुर नगरपालिकाभित्र सबैभन्दा धेरै वडा नं. ८ का बासिन्दा रहेका छन् । चौधरीका अनुसार वडा नं. ८ का मात्रै २५० घरपरिवार घर छोडेर अन्यत्र बस्दै आएका छन् ।

attariya hospital

उनीहरुमध्ये वनगाउँस्थित सुरक्षित स्थलमा ६०, कर्णाली पुलमा ५८, कालिमाटी स्कुलमा ६०, त्रिभुवन मावि बटनपुरमा ६० र राष्ट्रिय प्रावि सूर्यपुरमा १२ घरपरिवार बस्दै आएका छन् ।

त्यस्तै वडा नं. १ मा शिवनगर स्कुलमा १२, नयाँ नेपाल स्कुलमा १०, वडा नं. २ मा आफन्तकोमा ६, वडा नं. ३ मा सुरक्षित स्थलमा ४०, वडा नं. ५ मा त्रिभुवन मावि मौरानियामा २२, वडा नं. ६ मा आफन्तकोमा २५ र वडा नं. ७ मा कर्णाली मावि सत्तीमा ३० घरपरिवार बस्दै आएका छन् ।

टीकापुर नगरपालिकामा अहिले वडा कार्यालय मार्फत राहत वितरणको काम भैरहेको छ । नगरपालिकाले बाढी पीडित बस्दै आएको ठाउँमै पुगेर राहत वितरण गरिरहेको शाखा प्रमुख चौधरीले जानकारी दिइन् । बाढी पीडितलाई विभिन्न संघसंस्थाहरुले समेत राहत वितरण गर्दै आएका छन् ।

उता जानकी गाउँपालिकामा समेत बाढीपछि ११३ घरपरिवार घर फर्किन सकेका छैनन् । उनीहरुसमेत विभिन्न विद्यालय र आफन्तकोमा बस्दै आएका छन् । विपद व्यवस्थापन शाखा प्रमुख नेत्र न्यौपानेका अनुसार वडा नं. ३ मा ५० घरपरिवार बालमुक्ति आधारभूत विद्यालय जगतपुरमा बस्दै आएका छन् भने वडा नं. ९ मा ६० र वडा नं. ३ मा ३ घरपरिवार आफन्तकोमा बस्दै आएका छन् ।

बाढीका कारण विस्थापित भएकाहरुलाई राहत वितरणको काम सुरु भएको छ । उनीहरुलाई तत्काल खाद्यान्न, त्रिपाल, ओढ्ने ओछ्याउने सामाग्री राहत स्वरुप वितरण भैरहेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए । उनले रेडक्रसको सहयोगमा बाढी पीडितलाई राहत वितरणको काम भैरहेको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.