अत्तरिया – आईतबार साँझदेखी परेको अविरल वर्षाले सुदूरपश्चिममा ठुलो धनजनको क्षती ग-यो । दशैको टिका सकेर धान काट्ने सुरुमा रहेका किसानहरुको धानबाली मात्रै बगाएन पानीले पहाडी क्षेत्रमा घरखेत नै बगायो ।
बेमौषमी रुपमा आएको पानीले सबैभन्दा बढी क्षती किसानहरुलाई पुगेपनि अन्य क्षेत्रमा पनि त्यसको असर उत्तिकै प¥यो । यहाँका कलकारखानाहरुले पनि अकस्मात परेको ३ दिनको अविरल वर्षाको मार खेप्नुप-यो ।

बेमौषमी वर्षाकै मारमा अत्तरियाका ईट्टा व्यवसायीहरु पनि परेका छन । वर्षाको समयमा ईट्टा बनाउन नसकिने भएकाले हिँउदे समयमा ईट्टा उत्पादन सुरु गरिरहेका व्यवसायीहरुलाई बेमौषमी वर्षाले थला पारेको छ । उत्पादनको तयारीमा रहेका ईट्टा र उत्पादन गर्ने उद्योगमा नै वर्षाले क्षती गरेपछि यहाँका ईट्टा व्यवसायीहरु समस्यामा परेका छन ।
ईट्टा उत्पादन सुरु गर्ने तयारी गरिरहेका कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ का राजु भट्टराईलाई पनि वर्षा अत्यन्तै पिडादायक बन्यो । दशैको टिका पश्चात ईट्टा उत्पादन गर्ने सोच बनाएका उनले ईट्टा उत्पादन गर्नु त कता हो कता ईट्टा उत्पादन गर्ने उद्योग पनि गुमाउनु प¥यो । लगातारको वर्षाले उद्योग भत्कीदा आफु सारै समस्यामा परेको उनले बताए ।
‘ईट्टा उत्पादन गर्ने तयारी थियो’ उनले भने ‘अकस्मात परेको पानीले सब सत्यानाश बनायो ।’ वर्षामा पानी परिरहने र ईट्टा पोल्न नपाईने हुँदा यही सिजनमा ईट्टा उत्पादन गर्ने गरेको बताए । ‘दशैको टिका थापेर दोस्रो दिनदेखी ईट्टा उत्पादनको काम गर्ने भन्दै कामदारहरु पनि आएका थिए’ उनले भने ‘अब कम्तिमा पनि एक महिनासम्म ईट्टा उत्पादन गर्न सकिदैन, पैला ईट्टा उत्पादन गर्ने उद्योगलाई मर्मत गर्नु पर्ने भो ।’

करिब ८ वर्षदेखी ईट्टा उद्योग सञ्चालन गर्दै आएका उनले उद्योग सञ्चालन गरेदेखी आफुले यती ठुलो क्षती बेहोर्नु नपरेको बताए । ‘२०७६ सालमा आएको पानीले उत्पादन गर्दै गरेको ईट्टामा क्षती गरेको थियो’ उनले भने ‘तर बेमौषमी पानीले गरेको ठुलो नोक्सान यो पहिलो पटक हो, यसरी त मौषमी रुपमा आउने वर्षाले समेत क्षती पु-याएको थिएन ।’
उनले उक्त उद्योग मर्मत गर्न कम्तिमा पनि ३० लाख लगानी लाग्ने बताए । ‘ईट्टा उद्योग मर्मत गर्न कम्तिमा पनि मलाई २ लाख ईट्टा आवश्यक पर्छ’ उनले भने ‘त्यसको मुल्य भनेको करिब ३० लाख हुन आउँछ, कोरोनाले समस्यामा पारेको बेलामा फेरी बेमौषमी पानीले पनि दुख दियो ।’ उनले ईट्टा उद्योग मर्मत गरी करिब १ महिना पछि ईट्टा उत्पादनको कार्य सुरु गर्ने बताए ।
यता मेसिनबाट ईट्टा उत्पादन गर्दै आएका कैलालीको गोदावरी नगरपालिका वडा नं. १ का तिर्थराज ओझाले पनि वर्षाले पारेको पिडा सुनाए । उनले वर्षाका कारण करिब १० लाख बराबरको क्षती भएको बताए ।
सुदुरपश्चिममै पहिलो पटक मेसिनबाट उत्पादित ईट्टा (चाईनिज ईट्टा) बनाउदै आएका उनले बेमौषमी वर्षाले करिब ७ लाख भन्दा बढीको काचोँ इट्टामा क्षती गर्नुका साथै ३ लाख बराबरको कोईला बगाएको बताए ।
‘ईट्टा उत्पादन गर्ने समयमा आएको बेमौषमी पानीले उत्पादनको अन्तिम चरणमा पुगेका ईट्टामा क्षती गरेको छ’ उनले भने ‘करिब ५० हजार जती काँचो ईट्टाहरु बिग्रिएका छन ।’ उनले ईट्टा पोल्नका लागी ल्याएका करिब ७÷८ टन कोईलाहरु पनि पानीले बगाएको बताए ।
२०७५ सालदेखी उक्त उद्योग सञ्चालन गर्दै आएका उनले आफुले पहिलो पटक पानीका कारण यती भारी मात्रामा नोक्सानी बेहोर्नुपरेको बताए ।


















