मुगु बस दुर्घटनामा मृतकको संख्या २४ पुग्यो
मुगु — मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटप्लेखोलामा मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी २२ जनाको घटनास्थलमै मृत्यु भएको र थप २ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार ७ महिला, १६ पुरुष र एउटा बच्चाको मृत्यु भएको छ ।
कठिन र भिरालो भूगोल भएकाले मृतकको संख्या बढी भएको उनको भनाइ छ । घाइतेहरुमध्ये १४ जनालाई नेपाली सेनाको हेलिकोप्टर र जहाजमार्फत उद्धार गरी सुर्खेत र नेपालगन्ज पु-याइएको छ ।
प्रमुख जिल्ला अधिकारी महतका अनुसार बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । ‘ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ,’ उनले भने, ‘अहिले पनि उद्दारको काम जारी छ ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ३९ यात्रु सवार थिए । मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो ।