बैतडीको निंगलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडी – बैतडीको निंगलाशैनी भगवती मन्दीरमा आजदेखी जात्रा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी बलि दिइने जिल्लाको दशरथचन्द नगरपालिका–२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरू भएको हो ।
यहाँ रांगाको बलि दिने भाकल गरेकाहरुले आज नै राँगा मन्दिरमा लगेर बाध्ने चलन रही आएको छ । जात्रामा सुदूरपश्चिम प्रदेशका साथै भारतीय दर्शनार्थी समेत आउने गरेका छन् । मन्दिरमा एक हजारभन्दा बढी पशुबली हुने अनुमान गरिएको छ ।
महासप्तमीका दिन फूलपाती भित्र्याएर विशेष पूजाआजासहित जात्रा सुरू भएको र महाष्टमीका दिन बलिसहित पूजाआजा गरेर सम्पन्न हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । ‘महाअष्टमीमा बलि हुन्छ । पूजाआजा भने घटस्थपनादेखि नै सुरु हुन्छ’ उनले भने, ‘आज फूलपाती भित्र्याएसँगै जात्रा सुरु भएको हो ।’
यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन मदिरा बिक्री वितरण, सेवन र जुवातास खेल्न रोक लगाएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रनबहादुर बोहराका अनुसार घटस्थापनादेखि नै देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कसैले मदिरा सेवन गरेको पाइएमा दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा ६ हजार जरिवानासहित मदिरा समेत जफत गरिने वडा कार्यालयले जनाएको छ । यसका साथै जुवा खेले वा खेलाएमा तीन हजार रुपैयाँ जरिवाना गरिने बताइएको छ ।