अत्तरिया – नेपालीहरुको महान पर्व दशै, तिहार तथा छठको अवसर पारी कैलालीको अत्तरियामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नाराका साथ अत्तरिया तेक्वान्दो डोजाङ्गले कार्यक्रमको आयोजना गरेको हो । डोजाङ्ग प्रमुख ईन्द्र बहादुर सिँहको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए ।


कार्यक्रममा बोल्दै उनले देशमा खेलकुद प्रतिको लगाव कम रहेको बताए । उनले खेलले राष्ट्र तथा प्रदेशलाई चिनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले खेलकुदमा सरकारले पनि लगानी गर्नुपर्ने आवश्यक रहेको बताए ।
उनले आफुपनि स्थानिय तहको प्रतिनिधि भएकाले स्थानिय तहबाट खेलकुदका कार्यक्रमका लागी हुने सहयोग र सहकार्य गर्न तयार रहेको उनले बताए । अत्तरिया तेक्वान्दोमा रहेका खेलाडीहरुले भविष्यमा राष्ट्रियस्तरमा गएर सफलता प्राप्त गर्ने विश्वास लिएको उनले बताए ।
कार्यक्रममा बोल्दै अत्तरिया तेक्वान्दो डोजाङ्ग प्रमुख ईन्द्र बहादुर सिँहले अत्तरियाका युवा तथा बालबालीकाहरुलाई सभ्य र राष्ट्रको विकाशका लागी योगदान दिन सक्ने बनाउनका लागी आफुले तालीम सञ्चालन गरिरहेको बताए ।


उनले समाजमा डरलाग्दो रुपमा रहेको दुव्र्यसनीबाट युवाहरुलाई टाढा राख्न र आफ्नो आत्मरक्षा गर्न सक्ने नागरिक बन्न तालीमले योगदान दिने बताए । उनले तालीमका लागी व्यवस्थीत स्थान हुन नसक्दा यहाँका खेलप्रति ईच्छुक व्यक्तिले खेल्न नपाएको बताए ।
‘तेक्वान्दो ईनडोर गेम हो’ उनले भने ‘तर हामीसँग त्यस्तो स्थान नहुँदा हामीले खुल्ला मैदानमा खेलाडीहरुलाई तालीम दिन परिरहेको छ ।’ विज्ञानको युगमा तेक्वान्दो वैज्ञानिक भैसकेपनि अत्तरिया क्षेत्रमा भने खेलका लागी ठाउँको समेत अभाव रहेको उनले बताए । उनले युवाहरुलाई खेलप्रति अभिप्रेरित गर्न र खेललाई बृहत बनाउन स्थानिय तहले पनि सहयोग गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य दुर्गा अधिकारी, सैनिक आवाशिय महाविद्यालयका भाईस प्रिन्सिपल जयराज भट्ट, दुर्गालक्ष्मी सामुदायीक बनकी अध्यक्ष दुर्गा कडायत, बनदेवी युवा क्लबका उपाध्यक्ष प्रकाश शाही, गोदावरी नगर तेक्वान्दो संघका अध्यक्ष सन्तोष भट्ट, अत्तरिया फुटबल एकेडेमीका सञ्चालक सञ्जय ओझा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा विगत ३ वर्षअघिदेखी तेक्वान्दो प्रशिक्षण लिदै आईरहेका १२ जना प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उनिहरुलाई नेपाली कोरियन फस्ट दान ब्याक बेल्ट र प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमको सञ्चालन तेक्वान्दो प्रशिक्षार्थी टेक बहादुर साउँदले गरेका थिए ।


















