खाेज्नुहाेस

सुदूरपश्चिमका खेलाडीले ढाई वर्षपछि पुरस्कार रकम पाए 

Image

गोदावरी – धनगढीमा २०७५ साल चैतमा सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले ढाई वर्षपछि पुरस्कार रकम पाएका छन् । सुदूरपश्चिम खेलकुद परिषद्ले पुरस्कार रकम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीलाई दिएको हो ।

ढाई वर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिएको हो । विभिन्न खेलमा पदक जितेका खेलाडीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नगद रकमसहित खेलाडीलाई सम्मान गरे ।

attariya hospital

उनका अनुसार व्यक्तिगततर्फ पहिलो हुनेलाई ३५ हजार दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद दिइएको छ । त्यस्तै समूहतर्फ प्रथम हुने टिमलाई जनही २८ हजारका दरले रकम दिइएको छ । त्यस्तै तीन खेलका प्रशिक्षकले प्रतिव्यक्ति नगद ११ हजार दिइएको छ । प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र तीन कास्यसहित च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले १५ लाख नगदमा सरकारी कर कट्टा गरी ११ लाख २५ हजार रकमलाई वितरण गरिने भएको छ ।

navjiwan hospital

ब्याडमिन्टनमा दुई स्वर्ण जित्ने देवराज राना र जेबी साउदले जनही रु ३५/३५ हजार पाउँदा रजत जित्ने नीलिमा महारा र रोशन साउदले जनही रु २५/२५ हजार पाए । त्यस्तै कास्य पदक जित्ने रोशन साउद प्रियशु सिंह क्षेत्री, अमृत चौधरी, योगेश खड्का र एलिना तिरुवाले जनही १५/१५ हजार पाए । प्रशिक्षक मेघराज कठायतले नगद ११ हजार प्राप्त गरे ।

सुदूरपश्चिमको पुरुष फुटबल र महिला क्रिकेट टोलीले पनि स्वर्ण जितेको थियो । टोलीका सदस्यले जनही २८/२८ हजार पाएका छन् । क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले नगद ११ हजार पाउँदा १४ जना खेलाडीले २८ हजारका दरले रकम पुरस्कार प्राप्त गरे । पुरस्कार पाउनेमा कविता कुँवर, कविता जोशी, विन्दु रावल, ईश्वरी विष्ट, जानकी भट्ट, सुमन विष्ट, डल्ली भट्ट, रेवती धामी, निशा भट्ट, मञ्जु बोगटी, लक्ष्मी साउद, रुवी पोदार, सम्झना खड्का र शोभा रोकाया रहेका छन् ।

पुरुष फुटबलमा प्रशिक्षक रोहित भण्डारीले ११ हजार पाउँदा टोलीका १८ जना सदस्यले २८ हजारका दरले रकम पुरस्कार प्राप्त गरे । पुरस्कार पाउनेमा गजेन्द्र शाही, माधव भण्डारी, राकेश हमाल, नरेन्द्र चौधरी, कमल देउवा, सन्दीप कुँवर, भगेन्द्र चौधरी, अमानत सेख, जीवन चौधरी, चेतमान कठायत, हिक्मत खत्री, उनेश रेग्मी, टीका थापा, सुनिल धामी, सुनिल शाह, सुरेन्द्र राना, वीर धामी र प्रवीन दाहाल रहेका छन् ।

रासस