अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका १ सय १ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
कोरोना महामारीको आपतकालीन अवस्थामा समस्यामा परेका १ सय १ विपन्न परिवारलाई फाउन्डेशन फर अ जस्ट सोसाईटीको सहयोगमा दलित महिला संघ (फेडो) कैलाली ले खाद्यान्न वितरण गरेको हो ।

बुधबार नगरका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी संस्थाले गोदावरी नगरपालिका वडा नं. १, २ र ३ का ३९ तथा ७, ८, १०, ११ र १२ का ६२ परिवारलाई प्रतिपरिवार २५ किलो चामल, ३ किलो दाल, २लिटर तेल, २ किलो नुन, ६ वटा साबुन र १ पाकेट मास्क वितरण गरेको छ ।
संस्थाकी वडा नं. १,२ र ३ स्तरिय सञ्जाल समितिकी अध्यक्ष सकुन्तला सोपको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन । कार्यक्रममा बोल्दै उनले नगरपालिकाभित्रका विपन्न परिवारलाई सहयोग गरेकोमा उनले संस्थालाई धन्यवाद ज्ञापन गरिन ।

उनले नेपालीहरुको महानपर्व दशै तिहार आएसँगै विपन्न परिवारको कसरी छाक टार्ने भन्ने समस्या फेडोले समाधान गरिदिएको बताईन । उनले महामारीका बिच समस्याले ग्रसित बनेका विपन्न समुदायलाई चाडपर्वले थप पिडा दिईरहेका बेला फेडोले गरेको सहयोग अविस्मरणिय रहेको बताईन । प्राप्त सहयोगले केही मात्रामा भएनी चाडपर्वका बेला नहुँनेका घरमा चुलो बल्ने उनले विश्वास व्यक्त गरिन । यसका साथै उनले दशैतिहारमा अर्काको सिको नगरी आफ्नो दक्षताअनुसारको दशै मनाउन आग्रह गरिन ।
यसैगरी कार्यक्रममा बोल्दै संस्थाका कैलाली जिल्ला संयोज विनोद कुमार घिमिरेले संस्थाले विगत देखी नै सामाजिक क्षेत्रमा कार्य गर्दै आएको बताए । उनले समाजमा रहेका विपन्न वर्गका परिवारहरुलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले महामारीका कारण दैनिक छाक टार्न मुस्किल भैरहेका परिवारहरुलाई आफुहरुले खाद्यान्न वितरण गर्ने बताए ।
उनले कैलालीमा २ सय १ जनालाई खाद्यान्न वितरण गर्ने बताए । ‘कैलालीमा २ सय १ जनालाई सहयोग गर्छाै, जसमध्ये बर्दगोरीया गाउँपालिकाका १ सय जनालाई वितरण गरिसकेका छौ’ उनले भने ‘आज गोदावरी नगरपालिकाका १ सय १ जनालाई वितरण गरेका छौ ।’
उनले गोदावरी नगरपालिका वडा नं. १, २, ३, ७, ८, १०, ११ र १२ का विपन्न परिवारलाई सामग्री वितरण गरिएको बताए ।
कार्यक्रममा वडा नं. १ का कार्यवाहक वडाध्यक्ष कृत बहादुर चन्द, वडा नं. १ कै वडासदस्य लाली देवी कामी, वडा नं. २ की वडासदस्य संगीता बि.क लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी कैलाली जिल्ला सचिव अम्बीका ताम्राकारले गरेकी थिईन ।


















