बैतडी – जिल्ला अस्पताल बैतडीमा दैनिक रुपमा स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफसको संक्रमण देखिन थालेको अस्पतालमा सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनले भने, ‘पछिल्लो केही दिनदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रब टाइफस पोजेटिभ देखिन थालेको छ ।’
पछिल्लो समय दिन प्रतिदिन यहाँ स्क्रब टाइफसका बिरामी देखिन थालेपछि संक्रमणको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले बताए । अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा क्रब टाइफसको परीक्षण गरिरहेका छ । ‘केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ‚’ उनले भने, ‘दैनिक रुपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ। यसबाट बच्न जरुरी छ ।’


जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । अस्पतालका सूचना अधिकारी पन्तका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । गत साउनदेखि हालसम्म जिल्लामा ४५ जनामा संक्रमण देखिसकेको छ ।
‘वर्षा यामको सुरुबाटै बिरामीको संख्या बढेको छ,’ उनले भने‚ ‘साउनदेखि हालसम्म ४५ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।’ जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ ।
त्यसमध्येबाट पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए । वर्षातमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका अस्पतालका प्रमुख डा. जोशीले बताए ।


















