अत्तरिया – अत्तरियामा स्थापित ‘गोदावरी जेष्ठ नागरिक समाज’ गोदावरी नगरपालिकाका जेष्ठ नागरिकको सुख, दुःख बिसाउने थलो बनेको छ । कैलालीको गोदावरी नगरपालिका – २ मा स्थापना गरिएको समाजमा दैनिक जसो गोदावरी क्षेत्रका जेष्ठ नागरिक आएर भलाकुसारी गर्ने गरेका छन । गोदावरी क्षेत्रका जेष्ठ नागरिक मिलेर स्थापना गरिएको समाजले आफ्नै भवन निर्माण गरेर दिवा सेवाको समेत सुरुवात गरेपछि अहिले यस क्षेत्रका जेष्ठ नागरिक दैनिक जसो यहाँ पुग्ने गरेका छन ।
उक्त समाजका अध्यक्ष खडक राज जोशीले समाजको स्थापना भएपछि समस्यामा परेका जेष्ठ नागरिकका समस्या समाधान गर्न सहज भएको बताए ।

‘जेष्ठ नागरिकहरुका धेरै समस्या छन । ति समस्याहरुलाई हामीले संस्थागत रुपमा उठाउँन्छौ’ उनले भने ‘हामीकहाँ कसैको छोराले नपालेको, कसैको बुहारीले नराम्रो गरेको समस्या आउँन्छन । हामीले तिनका समस्या सामाधानका लागि सम्बन्धित ठाउँमा पु-याउन पहल गर्छौ ।’

उनले समस्या सामाधानका लागि सुरुमा घर घरमै गएर सम्झाउने गरेको तर, त्यसरी समस्या सामाधान नभए नगरपालिका र प्रशासन सम्म जान सहयोग गर्ने गरेको बताए ।
जेष्ठ नागरिक तिन किसिमका छन उनले भने ‘एउटा सम्पन्न जेष्ठ नागरिक छन, जसले घरबाट सबै सुबिधा पाएका छन । अर्को किसिमका आर्थिक अवस्था कमजोर भएका घरबाट स्याहार नपाएका जेष्ठ नागरिक छन । अनी अपाङ्गता भएका जेष्ठ नागरिक पनि छन ।’ उनले सबै किसिमका जेष्ठ नागरिकलाई फाईदा पुग्ने गरी दिवा सेवाको कार्यक्रम संचालन गरेको बताए ।
‘दिवा खाजाका लागि गोदावरी नगरपालिकाले बार्षिक रुपमा ५० हजार सहयोग गर्ने गरेको छ । त्यो रकमबाट हामीले दिउँसोको समयमा चिया पिउँने बेवस्था गरेका छौ’ उनले भने ‘सातामा आइतबार बाहेक दिउँसो १ बजे देखि ३ बजे संम्म कार्यालयमा जेष्ठ नागरिक जम्मा हुन्छौ । आफ्ना सुख, दुःख साटासाट गर्छौै ।’

उनले दैनिक ५/६ जना देखि २०/२५ जना सम्म जेष्ठ नागरिक जम्मा हुने गरेको बताए । उनले जेष्ठ नागरिकका लागि गोदावरी नगरपालिका, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र फाया नेपालबाट सहयोग पाएको बताए ।
समाजले मासिक रुपमा जेष्ठ नागरिकको रमाइलोका लागि भजन कृतनका कार्यक्रम पनि गर्दै आएको छ । पछिल्लो समय कोरोना महामारीका कारण भने भजन कृतनका कार्यक्रम रोकिएको अध्यक्ष जोशीले बताए । उनले ठाउँ सानो भएकाले पनि भजन कृतनका कार्यक्रम गर्न समस्या भएको बताए । उनले हालको भवन नजिकै १ सय जना सम्म अटाउने हल बनाउने योजना रहेको बताए ।
समाजका कोषाध्यक्ष दिब्यश्वर उदासि बास्कोटाले समाजको भवन सम्म आउने बाटोको समस्या भएको बताए । उनले राजमार्ग देखि भवन सम्म बाटो नहुँदा जेष्ठ नागरिकलाई हिडडुल गर्न निकै समस्या भएको बताए ।

‘बाटो नहुँदा चाहेर पनि बिभिन्न कार्यक्रम संचालन गर्न पाएका छैनौ’ उनले भने ‘हामीले बालबालिका तथा युवाहरु संग जेष्ठ नागरिक कार्यक्रम गर्ने योजना बनाएका छौ । यो कार्यक्रम गर्न कार्यालय आउने बाटो र हलको समस्या रहेको छ ।’ उनले गोदावरी नगरपालिकाका १ हजार बढी जेष्ठ नागरिक समाजमा आवद्ध भएको बताए ।
समाजका सचिव बालकृष्ण भण्डारीले राज्यले ६० बर्षका नागरिकलाई जेष्ठ नागरिक भनेपनि सेवा सुविधा भने ७० बर्ष पछि मात्रै दिदाँ समस्या भएको बताए । उनले ६० देखि ७० बर्षका नागरिकलाई जेष्ठ नागरिक भनिए पनि सेवा सुविधा र सम्मानबाट बन्चित गरिएको बताए । ‘यो उमेरका जेष्ठ नागरिक न यता, न उता घर न, घाटका भएका छन’ उनले भने ‘त्यै पनि हामीहरु सेवाको भावनाले जेष्ठ नागरिक समाज मार्फत काम गरिरहेका छौ ।’
अत्तरियामा जेष्ठ नागरिक समाज २०७४ सालमा समाज स्थापना गरिएको थियो । समाजले गोदावरीका १२ वटै वडामा समिति बिस्तार गरेको छ । जसमा १२ वटै वडामा संयोजक तोकिएका छन ।


















