धनगढी – संविधान दिवसको अवसरमा सुदूरपश्चिमका चार जिल्लाका १८ जना कैदीको कैद मिनाह भएको छ । प्रदेशको कैलाली र कञ्चनपुर, बझाङ र बैतडी कारागारमा रहेका १८ जना कैदीको कैद मिनाह गरीएको छ । कञ्चनपुर कारागारमा रहेका ७, कैलाली कारागारमा रहेका ६, बझाङ कारागारमा रहेका ४ र बैतडी कारागारमा रहेका १ जना कैदीको कैद मिनाह गरीएको हो ।
कञ्चनपुर कारागारमा रहेका कर्तव्य ज्यान मुद्धाका शिवराज भट्ट र प्रेमसिंह भण्डारी, वहुविवाह मुद्धाका रोहित आउजी, करिना विश्वकर्मा, माया चन्द तथा चोरी मुद्धाका खुशीराम चौधरी रहेको कञ्चनपुर कारागारकी जेलर माया बस्नेत थापाले बताइन् । उनले कञ्चनपुर कारागारमा ४०७ जना कैदीबन्दी रहेको बताइन् ।

कैलाली कारागारमा रहेका कर्तव्य ज्यान मुद्धाका खेमा कुमारी अर्याल (देवकोटा), रामप्रसाद राना, कृष्णकुमार चौधरी, कृष्ण शर्मा तथा सवारी ज्यान मुद्धाका चक्रबहादुर चौधरी, प्रेमसिंह साउँद रहेको कैलाली कारागारका निमित्त जेलर बिरेन्द्रबहादुर बोहराले बताए । उनीहरुले ५० प्रतिशत कैद भुक्तान गरेको निमिक्त जेलर बिरेन्द्रबहादुर बोहराले बताए ।
एक बर्ष कैद सजाय तोकिएकी देवकोटाले ६ महिना चार दिन, तीन बर्ष कैद सजाय तोकिएका चक्र बहादुर चौधरीले एक बर्ष ६ महिना दुई दिन, तीन बर्ष कैद सजाय तोकिएका प्रेम सिंह साउँदले एक बर्ष ६ महिना चार दिन र १२ बर्ष कैद सजाय तोकिएका राम प्रसाद रानाले ६ बर्ष एक महिना ९ दिन कैद भुक्तान गरेका छन । यस्तै, २० बर्ष कैद सजाय तोकिएका कृष्ण कुमार चौधरीले ११ बर्ष ६ महिना २६ दिन र २० बर्ष कैद सजाय तोकिएका कृष्ण शर्मा तिवारीले १० बर्ष एक महिना ६ दिन कैद भुक्तान गरेको निमित्त जेलर बोहराले बताए । उनले भने, ‘दुई जना भारतीयसहित ९ जनाको कैद मिनाहका लागि नाम सिफारिस भएकोमा ६ जनाको कैद मिनाह भयो ।’
हाल कैलाली कारागारमा ३६ महिला, ३ आश्रित बालबालिका र ४५४ जना पुरुष गरेर ४९३ रहेको उनले बताए । यस्तै, बझाङबाट कर्तव्य ज्यान र बहुविवाह मुदाका २÷२ जनाको कैद मिनाह भएको छ । कर्तव्य ज्यान मुदाका दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का चक्र जप्रेल, कर्तव्य ज्यान मुद्धाका मष्टा गाउँपालिका वडा नम्बर ३ का रामचन्द्र खड्का, बहुविवाह मुद्दाका केदारस्युँ गाउँपालिका वडा नम्बर १ का शिवराज भण्डारी र जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का राजेन्द्र खड्काको कैद मिनाह भएको जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले बताए ।

जेलर धनबहादुर घर्तीका अनुसार जप्रेल २०७० असोज २९ गतेदेखि कैद सजाय भोग्दै आएका थिए । उनलाई सर्वोच्च अदालतले १५ बर्ष कैद सजाय तोकेको थियो । उनले ७ वर्ष ११ महिना ३ दिन कैद भुक्तान गरेका थिए । खड्का २०७७ साउन ४ गते देखी कैद सजाय भोग्दै आएका थिए । उनलाई जिल्ला अदालत बझाङबाट २ बर्ष कैद सजाय तोकेकोमा १ वर्ष १ महिना १० दिन कैद सजाय भुक्तान गरेका थिए ।
भण्डारी २०७७ साल कार्तिक २७ गते देखी कैद सजाय भोग्दै आएका थिए । जिल्ला अदालत बझाङले भण्डारीलाई १ बर्ष कैद सजाय सुनाएको थियो । उनले १० महिना ५ दिन कैद सजाय भुक्तान गरेका थिए ।
खड्का २०७७ भदौ ९ गते देखी कैद सजाय भोग्दै आएका थिए । जिल्ला अदालत बझाङले खड्कालाई २ वर्ष कैद सजाय सुनाएको थियो । उनले १ बर्ष २३ दिन कैद सजाय भुक्तान गरेका थिए ।
यस्तै, बैतडीमा कर्तव्य ज्यान मुद्दाका एक जना कैदीको कैद मिनाह भएको छ । मेलौली नगरपालिका वडा नम्बर १ का ललित भनिने सूर्य दयालको कैद मिनाहा भएको जिल्ला कारागार बैतडीले जनाएको छ । ८ बर्ष २ महिना कैद भुक्तान गरेका दयालको बाँकी ५ बर्ष २ महिना कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले बताए । उनी २०७० साल श्रावण ४ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा देशभरबाट ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसला लगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो ।




















