खाेज्नुहाेस

डडेल्धुराको वडा अधिवेशन मान्दैनौं : नेता रामचन्द्र पौडेल

Image

काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन नमान्ने बताएका छन् । उनले अधिवेशनमा संस्थापन पक्षले दादागिरी गर्ने कोसिस गरिरहेको आरोप लगाए ।

सोमबार काठमाडौंमा सिन्धुपाल्चोक कांग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै पौडेलले वडाबाटै कब्जा गरेर पार्टीको सत्ता हत्याउन खोजिएको बताए ।

attariya hospital
navjiwan hospital

‘पार्टी प्रवेशको नाममा सयौंलाई मौका दिइएको छ । तर, सच्चा कार्यकर्ताले स्थान पाएका छैनन् । हामी डडेल्धुराको वडा अधिवेशन मान्दैनौं । यसको विरोध गर्छौं । वडा अधिवेशनदेखि नै कब्जा गरेर पार्टीको सत्ता हत्याउन खोजिएको छ,’ पौडेलले भने, ‘हामी त्यस्तो हुन दिँदैनौं ।’

नेता पौडेलले महाधिवेशनमा नेता कार्यकर्ताले मूल्यांकन गर्न सकेनन् भने पार्टीमा स्वेच्छारिता झन् मौलाएर जाने बताए । ‘कसको कारणले पार्टी यो अवस्थामा पुग्यो ? के कारणले यो भइरहेको छ ?,’ पौडेलले भने, ‘पार्टीको संस्कार बचाउन लडाईं लड्नुपरेको छ । महत्वाकांक्षाले यस्तो भएको छ ।’

कांग्रेसले ५६ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । तीमध्ये देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा विवादकाबीच अधिवेशन भएको थियो । अधिवेशनमा देउवा पक्षले मनपरी गर्न खोजेको भन्दै पौडेल समूहले आरोप लगाउँदै आएको छ ।