अत्तरिया – कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा शिक्षकहरुका लागी समुदायमा आधारित शिक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालीम आयोजना गरिएको छ ।
अन्तरराष्ट्रिय संस्था एटोसको सहयोगमा पुर्नस्थापना र विकाशका लागी स्रोत केन्द्र (आरसिआरडि) भक्तपुरले तालीमको आयोजना गरेको हो ।

शिक्षा सम्बन्धी सरोकारवालाहरुलाई राखी समावेशी शिक्षाका अवधारणाका साथै अपांगता भएका बालबालीकाहरुका समस्या तथा उनिहरुको सवालहरुका बारेमा छलफल गर्न तालीम आयोजना गरिएको आयोजक संस्था आरसिआरडिका निर्देशन सुर्यभक्त प्रजापतीले जानकारी दिए ।
यसका साथै तालीममा अपांगता सम्बन्धी देशमा उपलब्ध कानुनी नितिगत अवस्था र त्यसको कार्यान्वयनको अवस्था, समावेशी शिक्षा लागु गर्न परेका बाधा, अवरोध तथा चुनौती र त्यसको समाधानका उपायहरुका बारेमा पनि तालीममा छलफल गरिने उनले बताए ।
उनले २ दिन शिक्षक/शिक्षिका तथा व्यवस्थापन समितिलाई राखेर तालीम दिईने र २ दिन नगर शिक्षा समितिलाई तालीम दिईने बताए ।
तालीमको अन्तमा विद्यालयले आफुलाई समावेशी बनाउने खाका तयार गरोस भन्ने आफुहरुको उद्देश्य रहेको उनले बताए ।
विगत ३६ वर्षदेखी अपांगता भएका बालबालीकाहरुलाई समुदायमै पुर्नस्थापना गर्ने तथा आफ्नै घरबाट पढ्ने वातावरण कसरी बनाउने भन्ने विषयमा कार्य गर्दै आएको संस्थाले समावेशी शिक्षा सम्बन्धी तालीमका लागी देशका ६ वटा जिल्लाका ६ वटा विद्यालयहरुलाई छनौट गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले सरकारको सबैका लागी शिक्षा कार्यक्रम संघियता आईसके यता अपांगता भएका बालबालीकाहरुको शिक्षाको लागी प्रभावकारी नभएको बताए ।
उनले सरकारले विद्यालय बाहिर कोही नरहुन भन्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रायजसो अपांगता भएका बालबालीकाहरु नै बाहिर रहेको बताए ।
अपांगता भएका बालबालीकाहरु विद्यालयमा आउन भौतिक पहुँच नभएको तथा विद्यालयमा अपांगता मैत्री वातावरण नभएका कारण प्रायजसो अपांगता भएका बालबालीकाहरु विद्यालय बाहिर रहने गरेको उनले बताए ।
समुदायमा आधारीत समावेशी शिक्षाले अपांगता भएका बालबालीकाहरुलाई शिक्षा आर्जनमा सहजता हुने उनले बताए ।
‘अपांगता भएका बालबालिका समुदायमै रहेर पढ्न पाउनुपर्छ भन्ने उद्देश्यले नै आरसिआरडि संस्थाले कार्य थालिरहेको छ’ उनले भने ‘त्यसमा उनिहरुलाई आवश्यक पर्ने सहयोग राज्यले व्यवस्था गर्नुपर्छ ।’
तालीममा विभिन्न विद्यालयका २० जना शिक्षक÷शिक्षिकाहरुको सहभागीता रहेको थियो । तालीमको प्रशिक्षकका रुपमा आरसिआरडि संस्थाका निर्देशक सुर्यभक्त प्रजापति, राष्ट्रिय अपांग महासंघ नेपालका निर्वतमान केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदी र आरसिआरडि संस्थाका फिल्ड प्रोग्राम अफिसर सुरेश प्रधान रहेका छन ।
गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशीको सभापत्विमा शुक्रबार एक अनौपचारीक कार्यक्रमका बिच तालीमको उद्घाटन गरिएको छ ।
सुप समावेशी आधारभुत विद्यालयकी प्रधानाध्यापक देवी साउँदले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले गरेका थिए ।


















