धनगढी – हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी आज हरितालिका तिज मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।
अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । तिजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी तिज पनि प्रभावित बनेको छ ।
सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर घरमै बसेर तीज मनाउन आग्रह गरेको छ । पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तिज जोडिएको पाइन्छ ।

शिव पुराणमा उल्लेख भएअनुसार पार्वतीको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीहरुले लुकाएर जंगलमा लगेको र पछि त्यहीबाट ब्रतको सुरुवात भएको संंस्कृतिविद् बताउन्छन ।
हरितालिका तिजको प्रसङ्ग मात्र नभई यसको नामाकरण पनि पार्वतीले बसेको कठोर ब्रतसँग जोडिएको छ । हरितालिका, हरिता र अलिका मिलेर बनेको हो ।
जसमा हरिताको अर्थ हरण र अलिताको अर्थ साथीहरु भन्ने संस्कृतमा बुझिन्छ । यसरी भगवान विष्णुसंग पार्वतिले विवाह गर्न नमानेपछि साथीहरुले जंगलमा लुकाएर लगेकाले यसलाई हरितालिका भनिएको कथन छ ।
तिजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य बर प्राप्त होस भन्ने कामनाका साथ ब्रत वस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि ब्रत बस्ने गरेका छन् ।













