सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३–३ महिनामा वितरण गर्ने भएको छ । यसअघि चौमासिक अर्थात ४–४ महिनामा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि भने त्रैमासिक अर्थात ३–३ महिनामा नै वितरण हुने भएको छ ।
सामाजिक सुरक्षा भत्ता चौमासिकबाट त्रैमासिक वितरण हुने निर्णयसँगै अब हरेक आर्थिक वर्षको पहिलो त्रैमासिक असोज, दोस्रो त्रैमासिक पुस, तेस्रो त्रैमासिक चैत र चौथो त्रैमासिक असारमा वितरण गरिने भएको हो ।


त्रैमासिकरूपमा वितरण हुने कानूनी व्यवस्था भएकाले त्यसैअनुसार निकासा तथा वितरण हुने विभागका निर्देशक एवम् सामाजिक सुरक्षा शाखा प्रमुख अनुज भण्डारीले जानकारी दिए ।
उनले भने, ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली माघमा संशोधन गरेर अर्थ मन्त्रालयले साउनदेखि लागू गर्न भनिसकेको छ । त्यसमा सामाजिक सुरक्षा भत्ता त्रैमासिकरूपमा निकासा तथा वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसै अनुसार अबदेखि ३–३ महिनामा वितरण हुन्छ ।’













