अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा रहेको जिवनज्योती महिला विकाश बहुउद्देश्यिय सहकारी संस्थाले तिज विषेश कार्यक्रमको आयोजना गरेको छ । नजिकिदै गरेको हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्व तिजको अवसर पारी संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाकी अध्यक्ष सुमित्रा सोपको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिईन भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत र अखिल नेपाल महिला संघकी कैलाली जिल्ला अध्यक्ष गिता सोडारी रहेकी थिईन ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले तिज आफ्नो श्रीमानको लामो आयुको लागी ब्रत बस्ने मात्रै नभई महिलाहरुलाई एक ठाउँमा भेला गराई रमाईलो गर्ने पर्व पनि भएको बताईन । उनले महिलाहरुलाई अगाडी बढाउन र घरको चुलोचौकोबाट बाहिर ल्याउन यस्ता कार्यक्रम मार्फत सहकारीहरुले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका बताईन । उनले राज्यका विभिन्न उच्चतहहरुमा पनि महिलाहरु पुग्न आवश्यक रहेको बताईन ।

यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख रत्ना कडायतले महिलाहरुले आफ्ना सुखदुख एकअर्काबिच साट्ने पर्वका रुपमा पनि तिजलाई लिन सकिने बताईन । उनले आफ्नो शरिरको ख्याल गरी यसवर्षको तिजलाई उल्लासमय तरिकाले मनाउन आग्रह गरिन ।
कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघकी अध्यक्ष गिता सोडारीले वर्षको एक दिन घरका सम्पुर्ण समस्याहरु बिर्सेर साथीसंगीसँग रमाईलो गर्दै मनाईने पर्वका रुपमा तिजलाई लिएको बताईन । उनले चुलोचौकोमा मात्रै सिमित महिलाको अस्तित्वलाई बाहिर ल्याउन र श्रीमानको लामो आयुको कामना गर्न परम्परादेखी नै महिलाहरुले तिज मनाउदै आईरहेको बताईन ।
उनले विगत केही समययता देखी नेपाली महिलाको संस्कृति झल्कने तिजमा पश्चिमा संस्कृतिले जरो गाडेको देख्दा आफु चिन्तित भएको समेत बताईन । नारीको संस्कार र नेपाली संस्कृति झल्कने तिजको मौलिख पहिचान हराउदै गएको बताउदै उनले यस्तो विषयमा संवेदनशिल बन्न जरुरी रहेको बताईन ।
महिलाहरुको महान पर्व तिजको अवसर पारी कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष सुमित्रा सोपले बताईन । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष लगायत संस्थाका सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमकी संयोजक विष्णा बोहराको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिईन । यस्तै कार्यक्रमको समापन पश्चात महिलाहरुले तिजका गितहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।


















