अत्तरिया – सुदूरपश्चिममा मनाइने गौरापर्वको दोस्रो दिन आज ब्रतालु महिलाहरुले ‘बिरुडा’लाई धुने गर्दछन् । यसअघि हिजो भिजाएका बिरुडालाई नजिकका नदी, तलाउ, धारमा लगेर धुने चलन रही आएको छ । ब्रतालु महिलाहरुले बिहानै नुवाइ–धुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने गरेका छन् । धान, साउँ, तील, अपामार्गलगायतका बोटहरुबाट गौराको प्रतिमूर्ती बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रही आएको छ ।
नजिकको धारा,कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तीलाई विभिन्न फाग सहित बिरुडाले पूजा गर्ने चलन रही आएको छ । आज नदी,तलाउ तथा धारमा मनाइने गौरालाई स्थानीयभाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । आज नदी,तलाउ, धारामा मनाएको भोली अमुक्ताभरण सप्तमीका दिन भित्र्याउने चलन छ ।


गौराको मुख्य दिन पर्सी दुर्वाष्टमी अर्थात अठ्यावाली हो । त्यो दिन ब्रतालु महिलाहरुले गौरालाई गौराखलामा लगेर बिरुडाले पूजा गर्ने गर्दछन् । बिरुडाले अठ्यावालीका दिन ब्रतालु महिलाहरुले आफ्ना श्रीमान, छोराछोरी र आफन्तहरुको टाउको पूजा गर्ने चलन रही आएको छ । गहँु ,केराउ ,गहत ,मास र गुरुस यी पाँच अन्नलाई बिरुडा भनिन्छ ।
पौराणिक कालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ । सुदूरपश्चिममा गौरालाई मुख्य चाडको रुपमा लिने गरिन्छ ।
गौराको अवसरमा रातभरी ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारी लगायतका खेलहरु खेल्ने गरिएका छन । यी खेलहरुमा प्राचीन इतिहास समेटिनुका साथै देवीदेवताका गाथासंगै बीरपुरुषहरुका इतिहास समेत समेटेको पाइन्छ । तर यी संस्कृतिका बिषयमा यूवा पुस्ताका ध्यान नजाँदा संस्कृतिहरु नै लोप हुने अवस्थामा पुगेका छन् ।




















