धनगढी – महिलाले अन्तिम संस्कार गर्न नहुने भन्ने पुरानो मान्यता छ । तर, कैलालीमा महिलाको एक समूहले आफैले शव बोकेर घाटसम्म पु¥याएर अन्तिम संस्कार समेत गरेका छ ।
उनीहरुले हालसम्म ११ शव आफैले काँधमा बोकेर घाटसम्म पु¥याएर अन्तिम संस्कार गरिसकेका छन् । धनगढीस्थित दृष्टी फाउण्डेसनका महिलाले पुरानो परम्परा तोड्दै बेबारीस मृतक महिलालाई दागबत्ती दिदै आएका छन् ।

तीन वर्ष अघि डडेल्धुराबाट दुई बच्चा सहित उद्धार गरेर दृष्टी फाउण्डेसमा सहारा दिदै आएकी अन्दाजी ३६ वर्षीय महिलाको बिहीबार मृत्यु भएपछि दृष्टी फाउण्डेसनका महिलाले उनको अन्तिम संस्कार गरेका हुन् ।


उनको अन्दाजी ७ र ५ बर्षको दुई बच्चा रहेको दृष्टी फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले बताइन् । ‘तीन वर्ष अघि डडेल्धुराबाट उद्धार गरेर दृष्टी फाउण्डेसनमा सहारा दिएका थियौं’ अध्यक्ष कल्पना भट्टले भनिन्, ‘केही दिनदेखि बिरामी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा राखेका थियो । हिजो मृत्यु भएपछि आज अन्तिम संस्कार गरेका हौं ।’
‘सडकमा अलपत्र महिलालाई उद्धार गरेर हामीले धनगढीस्थित दृष्टी फाउण्डेसनमा राख्ने गरेका छौ’ कल्पना भट्टले भनिन्, ‘मृत्यु भएपछि फाउण्डेसनका महिलाले नै सुरुदेखि अन्तिम संस्कारसम्म गर्ने गरेका छौं ।’
दृष्टी फाउण्डेसनकी चन्द्र तिरुवाले पुरानो रुढीबादी परम्परा तोड्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन अभियान थालिएको बताइन् । उनले हालसम्म ११ जना असाहाय महिलाको शव आफैले दाहसंस्कार गरेको बताइन् ।



















