धनगढी – कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू गरिएको छ । जिल्ला प्रहरी कर्यालय कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनासो अभियान सुरू भएको हो ।
कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन ।


सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
यो अभियान अन्तर्गत धनगढी बजार लगायत कैलाली जिल्ला भरि नै लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए । सो अवसरमा आज विहान मात्रै पाँच सय थान मास्क समेत सर्बसाधारणलाई बितरण गरिएको उनले बताए ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले कोरोनाको तेस्रो लहरको संक्रमण बढ्दै गएकोले मास्कबिना हिँडडुल नगर्न सर्वसाधारणमा आग्रह गरे।उनले सबै नागरिकलाई अनिवार्य मास्क लगाए, नलगाएको सुरक्षाकर्मीले निगरानी गरिदिन आग्रह गरे ।
कैलालीका प्रमुख जिल्ला खगेन्द्र रिजालले मास्क लगाउन अटेर गर्ने, मास्कबिनै भिडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए । उनले अभियानमा मास्क नभएकालाई निःशुल्क वितरण गर्ने तथा बिनामास्क हिँडडुल गर्नेलाई भने जरिवाना तिराउने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।


















