कञ्चनपुर – कञ्चनपुरमा अझै पनि मल अभाव देखिएको छ । जिल्लामा रोपाईका समयदेखीको मलको अभाव हालसम्म कायमै रहेको हो ।
मल आपुर्ती गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा मल नहुँदा धान रोपाइँका बेलादेखि मलको अभाव झेलिरहेका कृषकहरूले अझै मलका लागी सास्ती खेपिरहेका छन ।

कार्यालयमा मल नभएकाले कृषकहरुलाई मल दिन नसकेको कृषि सामग्री कम्पनि लिमिटेड महेन्द्रनगरका प्रमुख बलबहादुर शाहले बताए ।
‘हामीसँग मल नै छैन, कहाँबाट उपलब्ध गराउनु,’ कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगरका प्रमुख बलबहादुर शाहले भने, ‘अलिअलि आएको युरिया एक/दुई दिनमै सकिन्छ ।’
विगतमा पनि छिटफुट मात्रामा युरिया आउने भए पनि किसानका आवश्यकताअनुसार नआएको शाहले बताए । उनका अनुसार कञ्चनपुरका ८ स्थानीय तहमा रहेका सहकारीहरूले भैरहवाबाट ३ सय ३ टन डीएपी ल्याउन लागेका छन । ‘खरिद प्रक्रिया सबै पूरा भइसकेको छ, अब ढुवानीको काममात्रै बाँकी छ,’ शाहले भने, ‘हप्ता/दस दिनमा डीएपी आउँछ होला ।’

रोपाइँका बेला डीएपी र त्यसको २०/२५ दिनमा युरिया आवश्यक पर्छ । तर यहाँका कृषकले न रोपाइँका बेला डीएपी पाएन नत रोपेपछि युरिया नै । अहिले धान पसाउने तथा फूल लाग्ने बेला हुन थालेको छ । यतिबेला पनि कृषकहरूले मल पाउने सम्भावना छैन ।
जिल्लामा मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङको गोदाम दुई महिनादेखि रित्तो छ । असार पहिलो साता डीएसपी र युरिया सकिएपछि त्यसयता मल आएको छैन ।
तत्काल आउने सम्भावना पनि नरहेको साल्ट ट्रेडिङ महेन्द्रनगरका प्रमुख दीपक भट्टले बताए । ‘असारदेखि युरिया र डीएपी कुनै पनि मल आएको छैन,’ भट्टले भने, ‘अब हिउँदे बालीका लागि पनि आउने नआउने ठेगान छैन ।’ उनका अनुसार साल्ट ट्रेडिङको मल ढुवानीको ठेक्का नभएका कारण आपूर्तिमा समस्या देखिएको हो । अझै पनि ठेक्का हुन नसके हिउँदे बालीका लागि समेत समस्या हुने उनले बताए ।
कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । यसबाहेक जिल्लाका विभिन्न स्थानमा केराखेती पनि भइरहेको छ । केरा खेतीका लागि समेत युरिया, डीएपी र पोटास आवश्यक हुन्छ । तर समयमै मल नपाउँदा केराको उत्पादनमा समेत ह्रास आउने कृषकहरू बताउँछन ।
अबको केही दिनमा धान पनि पसाउन सुरु हुन्छ ।
त्यतिबेला युरिया र पानी आवश्यक हुन्छ । युरिया र पानी दुवै उपलब्ध गराउन सके २०/२५ प्रतिशत उत्पादन बढाउन सकिने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले बताए ।
‘फ्लावरिङ स्टेजमा मल र सिँचाइ दुवै उत्तिकै आवश्यक हुन्छ,’ उनले भने, ‘त्यो हुन सकेन भने उत्पादनमा ह्रास आउँछ ।’ उनले बाली राम्रो भए पनि अहिलेको समयमा मल र सिँचाइ नदिन सके कुनै फाइदा नहुने बताए ।

















