खाेज्नुहाेस

सुदूरपश्चिममा ‘ओल्के’ को चहलपहल सुरु

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल कैलालीमा पनि आजबाटै सुरु भएको छ ।

भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारका पसल–पसलमा स्थानीयवासीको भीडभाड देखिन्छ । विभिन्न थरीका खाना पकाउनका लागि सामग्री किनमेल गर्न महिला गृहिणीलाई भ्याइनभ्याइ छ ।

attariya hospital

कोरोना सङ्क्रमणको जोखिम हुँदाहँदै पनि बजारका किराना तथा तरकारी पसलमा सामाजिक दूरी कायम नगरी सामान किन्ने ग्राहकको पुरानो अवस्थामा झै उत्तिकै चाप देखिन्छ । गाउँघरतिर स्थानीय कुटानीपिसानीका लागि मिल धाउने काममा मानिसहरु व्यस्त देखिन्छन् । त्यस्तै घर आँगन सरसफाइ गर्ने, लत्ताकपडा धुने लगायतका क्रियाकलापमा उनीहरु जुटेको पाइन्छ ।

navjiwan hospital

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, मही र पिँडालुको गाभा दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको धनगढी उपमहानगरपालिका–२ का स्थानीय पुरोहित कृष्णराज जोशीले बताए ।

‘गाउँ घरतिर जसका घरमा गाई भैँसीको दूध, दही, मही हुँदैन त्यस घरमा दूध, दही, महीलगायत बाँड्ने चलन छ’, पुरोहित जोशीले भने, ‘जसलाई हाम्रो स्थानीय गाउँघरको भाषामा ‘गोरस’ अर्थात ‘सितन’ भन्ने गरिन्छ ।’ विषेशगरी यस पर्वका दिन विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

यस पर्वमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, स्थानीय लोक भाकामा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । शहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको स्थानीयवासीको भनाइ छ ।

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे खासै जानकार नभएको स्थानीय अगुवा भक्तराज ओझा बताछन् । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गढवाल लगायतका स्थानमा पनि मनाउने गरिन्छ ।
रासस