खाेज्नुहाेस

गोदावरी स्वास्थ्य शाखाको वार्षिक समीक्षा : यस्ता छन उपलब्धि र भावी कार्यक्रम

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित उक्त कार्यक्रमको आइतबार नगरप्रमुख हरी सिह साउँदको अध्यक्षतामा उद्घाटन गरिएको छ ।

२ दिन सम्म सञ्चालन हुने समीक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख साउँदले जनप्रतिनिधि आएपछि नगरपालिका क्षेत्रको स्वास्थ्य क्षेत्रमा सुधार भएको बताए । उनले नगरक्षेत्रमा रहेका अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति हुनुका साथै वडा क्लिनिक भवनहरू थपिएको बताए ।

attariya hospital

‘वडा नम्बर २ बाहेक सबै ठाउँमा वडा क्लिनिक भवन तयार भएका छन’ उनले भने ‘निर्माण भएका क्लिनिक सञ्चालनका लागि नगरपालिकाले कर्मचारी व्यवस्थापन गरिरहेको छ । छिटै सबै क्लिनिक सञ्चालनमा आउने छन ।’ उनले नगरपालिकाको स्वास्थ्य क्षेत्रको सुधारका लागि सम्बन्धित सबैले सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले स्वास्थ्य क्षेत्रका सबै उपलब्धिलाई सत प्रतिशत पुगाउन सबै लाग्नुपर्ने बताईन् । उनले नगरपालिका क्षेत्रमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विपन्न वर्गका नागरिकलाई छुट दिने नीति ल्याउनु पर्ने बताईन् ।

यस्ता छन स्वस्थ शाखाका उपलब्धि

उद्घाटन कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ का उपलब्धि प्रस्तुत गरिएका थिए । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले गत आर्थिक बर्षमा नगरपालिका भित्र रहेका वडा नम्बर १ अत्तरिया, वडा नम्बर ६ को लालपुर र बुढितोलामा शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणको काम सम्पन्न भएको बताए । त्यस्तै उनले हालखोलीमा ल्याब र बर्थिङ सेन्टरको समेत तयारी सम्पन्न भएको बताए ।

navjiwan hospital

नगरपालिकाले गत आर्थिक वर्षमा ग्रामीण अल्ट्रासाउण्ड सेवा प्रारम्भ गरेको, मालाखेती अस्पतालमा संस्थागत क्लिनिक संचालन गरेको, कोरोना महामारीमा नियमित स्वाव संकलन गरेको नगरपालिकाले वार्षिक उपलब्धिमा उल्लेख गरेको छ ।

नगरपालिकाले गेटामा निर्माण गरिएको गेटा मेडिकल कलेजको होल्डिङ सेन्टर निर्माण गरेको विषयलाई पनि आफ्नो बार्षिक उपलब्धिमा समावेश गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले नगरपालिका मार्फत हालसम्म १० हजार २ सय जनालाई कोरोनाको पूर्ण खोप र ८ हजार जनालाई पहिलो डोज लगाइएको बताए ।

यस्ता छन आगामी योजना

वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले आगामी योजना समेत प्रस्तुत गरेका थिए । जस अन्तरगत गोदावरी, बहेडा, गेटा र बेलादेवीपुरमा चालु आर्थिक वर्षबाट सुरक्षित गर्भपतन सेवा सुरु गर्ने जनाईएको छ ।

हाल गोदावरीका मालाखेती अस्पताल र बेलादेविपुर स्वास्थ्य संस्थामा मात्रै सो सेवा रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताएका छन ।

त्यस्तै सबै स्वास्थ्य चौकीहरुमा अति शिघ्र कुपोषणको व्यवस्थापनका लागि ओटीसी सेन्टर सञ्चालन गर्ने, नगरपालिका भित्र मेयर जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने चालु आर्थिक बर्षको कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य शाखा प्रमुख अवस्थीले योजना तर्जुमा गोष्ठी कार्यक्रमा आगामी योजना बारेमा थप छलफल गरेर कार्यक्रम तय गरिने बताए ।  अत्तरियाको नमस्ते होटलमा सञ्चालित उक्त समीक्षा तथा योजना तर्जुमा गोष्ठी सोमबार सम्पन्न हुने जनाइएको छ ।

गोदावरी नगरपालिकामा हाल १ वटा अस्पताल, ४ वटा स्वास्थ्य चौकी र ५ वटा ग्रामीण स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका छन । त्यस्तै निजी क्षेत्रबाट सञ्चालित ५ वटा अस्पताल/पोलिक्निक र २० वटा औषधी क्लिनिक नगरपालिका भित्र रहेका छन ।