रमेश बहादुर सिह/बझाङ – जिल्लाको साईपाल गाउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले निर्वाचनको समयमा आफ्नो घोषणापत्रमा समेटेका प्रतिबद्धताहरु पुरा गरेको बताएका छन ।
उनले आफुले निर्वाचनका बेला घोषणापत्रमा समेटी जनतासँग बाँचा गरेका करिब ७५ प्रतिशत प्रतिबद्धताहरु पुरा गरेको बताएका हुन ।

नेपाली काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी बनेका धामिले गाउपालिकाका जनताले स्वास्थ्य समस्याका साथै बाटोघाटो र यातायात को समस्याबाट धेरै हदसम्म छुटकारा पाएको बताए ।

गाउपालिकाको सीमित बजेटले पनि जनताको पक्षमा केही काम गर्न सकेकोमा आफूलाई खुशी लागेको उनले बताए । गाउँपालिकाक्षेत्रमा सवैभन्दा ठूलो समस्याको रुपमा रहेका शिक्षा, स्वास्थ्य, यातायात, टेलिफोन लगायतका समस्यालाई मुख्य निगरानीमा राखी जनताको सहजीकरणका लागी त्यस्ता समस्याहरु कमी गर्दै गएको उनले बताए ।
व्यवस्थीत यातायातको सुविधा पुर्ण रुपमा समाधान नभएपनि आवश्यक परेका स्थानमा सडकको डिपिआर निर्माण गरेर समस्यालाई कमी गर्दै लगिएको उनले दावी गरे ।
‘म निर्वाचित भएर आएपछि टेलिफोन, स्वास्थ्य चौकि, बिधालय निर्माण, बिभिन्न ठाउँमा तटबन्ध गर्नुका साथै झोलुङ्गे पुल तथा बाटो निर्माणको काम गरेको छु’ उनले भने ‘गाउपालिका को समग्र विकासका बारेमा अन्य निकायसंग सरसल्लाह गर्दै दातृ निकायको खोजीमा समेत म निरन्तर लागीरहेको छु ।’
यसका साथै साईपाल हिमाल, राइदुङ्गि ताल र माझा ताललाई ब्यवस्थापन गरेर पर्यटन क्षेत्रको रुपमा विकास गर्ने योजनामा आफू रहेको उनले बताए । बाँकी रहेको आफ्नो कार्यकालमा पनि जनताको सेवामा नै लाग्ने र गाउपालिकाको विकासका लागि आफ्नो सक्रियता उत्तिकै रहिरहने अध्यक्ष धामीले प्रतिवद्धता व्यक्त गरे ।

















