निकास बिनाको विकास
अत्तरिया – नाली भएर पनि पानीको निकास नहुँदा सडकमा पानी जम्ने समस्याले अत्तरियाको लोटस गल्लीका स्थानिय हैरान छन । अत्तरियाको पहाड रोडबाट सो गल्ली पस्ने बाटोमा पानी जम्ने समस्या हुँदा सो क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको हो ।
कालोपत्रे समेत गरिएको सो सडकमा २ बर्ष अगाडी नाली समेत निर्माण गरिएको भएपनि सडक भन्दा नाली उच्चो हुँदा समस्या बढेको हो ।
स्थानिय व्यवसायी दान बहादुर साउँदले राजमार्ग संग सडकको लेवल मिलाउन नाली उच्चो बनाइएको भएपनि पछि सडकमा भरान नगरिदा समस्या भएको बताए ।
‘केहि भरान स्थानियले आफै गरेका थिए । तर, त्यो प्रयाप्त भएन’ उनले भने ‘नगरपालिकालाई पटक–पटक भनेपनि सुनुवाई भएको छैन ।’ उनले नाली बनाए पनि सो नाली सडकको लेवल संग नमिल्दा पानी भरिने समस्या भएको बताए ।
पानी भरिने समस्या भएपछि सडकमा ओहोरदोहोर गर्न निकै सास्ती खेप्नु परेको स्थानियले बताएका छन । स्थानिय देव विकले सडकको बिचमा पानी भरिरहने भएकाले दुर्घटनाको जोखिम समेत बढेको बताए ।
‘सडकको बिचमा पानी जम्मा हुँदा सवारी साधन र मानिस किनाराबाट हिड्न खोज्छन, जसले गर्दा गल्लीमा सवारी साधनको जाम लाग्ने गरेको छ’ उनले भने ‘पानी परेको एक साता सम्म पनि जम्मा भएको पानी सुक्दैन ।’
तत्कालिन नाली निर्माण उपभोक्ता समितिकी अध्यक्ष कैशल्या देवि खड्गवालले गोदावरी नगरपालिकाको ४० लाखको लगानीमा करिब २५० मिटर लम्बाईको दोहोरो नाली निर्माण गरिएको बताईन् । उनले नाली राम्रो बनेको भएपनि सडक गहिरो भएको र फुटेको ठाँउमा ममर्त नगरिदा समस्या भएको बताईन् ।
‘नाली निर्माण भएपछि बनेका घरहरुले पनि नालीमा निर्माण सामग्री राखेर सडकबाट नालीमा पानी जान बनाइएका प्वाल टालिएका छन । कति ठाउँमा सडक नै फुटेर आकाशको पानी भरिएर जम्मा भएको छ’ उनले भनीन ‘हामीले सडक मर्मतका लागि पटक पटक स्थानिय सरकारसंग आग्रह गर्दा पनि सुनुवाई भएको छैन ।’
लाखौं रकम खर्चेर पानी निकासका लागि नाली बनाईएको भएपनि सडकमै पानी जम्मा हुँदा भएको कालोपत्रे सडक पनि फुट्न थालेको छ । गल्लीको प्रवेशद्धार नै लामो समय देखि अस्तव्यस्त हुँदा आवतजावतमा कठिनाई हुनुका साथै सो क्षेत्रको व्यपार व्यवसाय पनि प्रभावित भएको स्थानियले बताएका छन ।
उता महेन्द्रनगर रोडबाट पनि लोटस गल्ली पस्ने बाटोमा समेत नाली र पक्कि सडक हुँदा पनि पानीको उचीत निकास नहुँदा र सडक फुटेका कारण सडकमा आवतजावत गर्न सास्ती हुने गरेको छ । निर्माण सामग्री थुपारीदा पनि बर्षातमा झन सडकमा पानी जम्ने समस्या बढ्ने गरेको छ ।