अत्तरिया बसपार्कको पार्किङ शुल्क उठाउने ठेकेदार छनोट
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको अत्तरिया बषपार्कको पार्किङ शुल्क उठाउनका लागि ठेकेदार छनोट गरिएको छ । गत बर्ष नगरपालिकाले आह्वान गरेको बोलपत्रमा कसैले आवेदन नदिएको भएपनि यस बर्ष भने बसपार्क ठेक्कामा लाग्ने निश्चित भएको छ ।
जसका लागि नगरपालिकाले डोटी भैरबकाली निर्माण सेवालाई छनोट गरेको जनाएको छ । बसपार्कमा पार्किङ शुल्क बाफतको रकम उठाउनका लागि नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ५० लाखको बोलपत्र आह्वान गरेको थियो ।
जसमा ५२ लाख ५ सय १ रुपैयाँ कबुल गरेको भैरबकाली निर्माण सेवालाई स्विकृत गरिएको नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत देव राज जोशीले बताएका छन । उनले ठेकेदार छनोट भएपनि सम्झौता हुन भने बाँकी रहेको बताए ।
नगरपालिकाले आर्थिक बर्ष २०७५/७६ मा ८८ लाख, २०७६/०७७ मा ९८ लाख ठेक्का मार्फत आम्दानी गरेको भएपनि गत आर्थिक वर्षमा भने ३ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि आवेदन दिएका थिएनन् । चालु आर्थिक बर्षमा बसपार्क ठेक्कामा नलागेपछि नगरपालिकाले आफैले कर्मचारी राखेर पार्किङ शुल्क उठाएको थियो ।
८ वर्ष अगाडी क्षेत्रीय बसपार्क बनाउने अवधारण सहित निर्माण गरिएको अत्तरिया बसपार्क २०७५ साउन १ गते बाट गोदावरी नगरपालिकाको मातहतमा आएको थियो । बसपार्क निर्माणको चर्चा लामो समयदेखि हुँदै आएको भएपनि अहिले सम्म पनि व्यवस्थित रुपमा निर्माण हुन सकेको छैन ।