रमेश बहादुर सिंह/बझाङ – कोरोना महामारीले लामो समयदेखि बन्द रहेका बझाङका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन् । मष्टा, तलकोट, साइपाल र खप्तडछान्ना गाउँपालिकामा रहेका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । चार वटा स्थानिय तहहरुमा रहेका सम्पूर्ण विद्यालयहरू एक साता अगाडि देखि पुनः सञ्चालनमा आएका छन् ।
गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।


‘हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ’, उनले, कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनले बताए । लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णय अनुसार अगाडि बढाइएको अध्यक्ष रोकायाले बताए ।
तलकोटका १८ वटा, मष्टाका ३४ वटा, साईपालका ८ वटा र खप्तडछान्ना गाउँपालिकाको ३८ वटा विद्यालय गरी ४ वटा स्थानीय तहमा रहेका ९८ वटा सामुदायिक विद्यालयहरू खुलेका छन् । सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिकाहरुले जनाएको छ । यद्यपि जिल्लाका ८ वटा स्थानीय तह केदारस्यु, दुर्गाथली, थलारा, सुर्मा, छविसपाथिभेरा र वित्थडचिर गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा रहेका विद्यालयहरू भने कहिले खुल्ने भन्ने अन्यौलमा रहेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय बझाङले भने केन्द्रबाट विद्यालय खोल्नको लागि कुनै परिपत्र नआएकाले विद्यालय हाल सञ्चालन नगर्ने जानकारी दिएको छ । साथै सोमबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको डिसिसिएमसीको बैठकले अहिले भौतिक उपस्थिति गराएर सञ्चालनमा रहेका विद्यालयहरू पनि बन्द गर्नको लागि सबै स्थानीय तहहरूमा परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।




















