दार्चुला – तुईनबाट बेपत्ता भएका दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । घटना भएको करिब एक साता पछि टोली भारतीय बाटो हुँदै गस्कु मालघाटका लागि हिडेको हो ।
गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतमले जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरिने बताएका छन । समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ ।


गत साउन १५ गते व्यास गाउँपालिका–२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए । उक्त घटना पछ भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार काटिदिदाँ धामी बेपत्ता भएको प्रत्यक्षदर्र्शीले बताएका थिए ।
छानबिन समितिले बुधबार बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरिसकेको छ ।
समितिमा संयोजक गौतम संगै सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट रहेका छन ।



















