अत्तरिया – धनगढीमा जुवा खालबाट फरार भएका २ जना पक्राउ परेका छन । प्रहरीलाई देखेपछि सोमबार राति धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एएफसी होटलबाट फरार भएका २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा कटेज संचालक कंचनपुर भिमदत्त नगरपालिका – ७ हल्दुखालका ३७ बर्षीय सुरेन्द्र बहादुर ऐर र गोदावरी नगरपालिका – २ अत्तरियाका ४७ बर्षीय महेन्द्र भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


उनीहरु प्रहरीलाई देखेपछि कटेजको सिसा सहितको मुल ढोका फोडेर भागेको प्रहरीले बताएको थियो । प्रहरीले जुवाडे भागेपछि सो स्थानबाट ८५ हजार नगद बरामद गरेको जनाएको थियो ।
उक्त घटनापछि प्रहरीलाई पैसा असुलेर जुवाडे भगाएको आरोप समेत लागेको थियो ।
प्रहरीले उक्त घटनामा जुवातास खेल्ने तथा खेलाउने १० जना फरार रहेको जनाएको थियो । सो मध्ये प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
बाँकी फरार रहेका ८ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएका छन ।















