अत्तरिया – साउन १५ गते दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर वेपत्ता भएपछि घटनाको चौतर्फि विरोध चर्कदै गएको छ ।प्रत्यक्षदर्शीहरुको भनाईलाई आधार मानी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन काट्दा धामीको मृत्यु भएको खबर बाहिरिएपछि घटनाको छानबिन र भारतीय ज्याजतीको बिरोध हुन थालेको हो ।
बिभिन्न राजनीतिक दल, संघ सस्था, जनस्तरबाट धामी बेपत्ता भएको घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरिएको छ । घटनाको बिरोधमा सोमबार पनि कैलालीको अत्तरियामा विरोध सभाको आयोजना गरिएको छ । महाकाली नदीमा रहेको तुईन काटेर दार्चुलाका स्थानिय जय सिँह धामीलाई भारतिय एसएसबिले मारेको भन्दै त्यसको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले विरोध सभाको आयोजना गरेको हो ।

अत्तरिया बजारको परिक्रमा गर्दै उक्त विरोध सभा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै उक्त पार्टीका कैलाली जिल्ला सेक्रेटरी दिपक चलाउनेले भारतिय विस्तारबाद बाट नेपाली नागरिक माथी हुनेगरेको थिचोमिचो र सिमानामा बेहोर्नुपर्ने सास्तीले सिमा नाघिसकेको बताए । दुई देशको अस्तित्व समान रहेको बताउदै उनले सानो र ठुलो देशको आधारमा यहाँका नागरिकहरुमाथी थिचोमिचो गर्ने प्रवृत्ति भारतले त्याग्नुपर्ने बताए । भारतले अन्र्तराष्ट्रिय सम्बन्धका आधारमा र सिद्धान्तका आधारमा दुई देशको बिचमा हुने छिमेकीको सम्बन्ध कायम गर्नुपर्ने उनले बताए ।
उनले त्यसो नभएको खण्डमा सानो देश भएपनि आफ्नो देशको अस्तित्व रक्षाका निम्ति र राष्ट्रियताका निम्ती भारत सँग कुनै दिन युद्ध गर्न नेपाली तयार रहने बताए । उनले मृतक जयसिँह धामीलाई सरकारले शहिद घोषणा गर्नुपर्ने समेत माग गरे ।

दार्चुला घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो । संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।
साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी भारत भएर सदरमुकाम फर्कने क्रममा महाकालीमा बेपत्ता भएका थिए । धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बल(एसएसबी) का जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर बेपत्ता भएको स्थानीयले आरोप लगाएका छन् ।
धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको ४ दिन बितिसक्दा पनि प्रत्यक्षदर्शीको भनाईमा सरकारको कुनै प्रतिक्रिया आएको छैन । सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको भएपनि एसएसबीको संलग्नताबारे मौन बसेको छ ।
राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए । उनले घटनाको छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको र प्रत्यक्षर्शी लगायतलाई सदरमुकाम बोलाइएको बताए । घटनाको बारेमा जानकारी दिएपछि गृहमन्त्री खाँण प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको÷फुकाएको विषयमा केही बोलेनन् ।
उनले आफैंले छानविनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी राय दिन नमिल्ने बताए । उनले भने, ‘प्रतिवेदन आएपछि त्यसमा उल्लेख भएका विषय कार्यान्वयनका लागि जुन सुकै अडान लिन सरकार प्रतिवद्ध छ । तर हामी आफैंले छानविन प्रभावित पार्ने गरी कुनै पनि राय दिन मिलेन ।’
सांसदहरुले भने एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर प्रश्न गरेका छन् ।

















