खाेज्नुहाेस

बझाङमा यार्सागुम्बा र वन लसुनको मुल्यमा कमि

Image

रमेश बहादुर सिह/बझाङ – बझाङमा यार्सागुम्बा र बनलसुनको मुल्यमा कमी आएको छ । विगत केही समययता बहुमुल्य जडिबुटीका रुपमा रहेका यार्सागुम्बा र बनलसुनको मुल्यमा कमी आएको हो । मुल्यमा कमी आउँदा वनलसुन र यार्सागुम्बा संकलक भने समस्यामा परेका छन् ।

आम्दानीको मुख्य स्रोत रहेको वनलसुन र यार्सागुम्बाको मुल्य घट्दा यहाँका आफुहरु समस्यामा परेको स्थानियहरुले बताएका छन ।

attariya hospital

‘केही वर्ष पहिले यार्सागुम्बा र वनलसुन बिक्री गरेर मनग्य आम्दानी हुन्थ्यो । तर, पछिल्लो एक/दुई वर्षयता भने यी बहुमूल्य जडिबुटी कौडीको भाउमा बिक्री भइरहेको छ,’ जिल्लाको छबिसपाथिभेरा गाँउपालिका–७ का स्थानीय दले बोहराले भने, ‘सस्तैमा जडिबुटी बिक्री हुँदा घर खर्च चलाउन पनि निकै समस्या भइरहेको छ । जडिबुटीबाट आम्दानी न्यून हुँदा भारततिर जानुपर्ने बाध्यता बढेको छ ।’

दुई वर्षअघि यार्सागुम्बा प्रतितोला २० हजार रुपैयाँमा बिक्री भएको थियो । तर, यो वर्ष भने आफूहरूले प्रतितोला १२ हजार रुपैयाँ मात्र पाएको बोहराले गुनासो गरे ।

‘दुई/तीन वर्षअघि हामीले यार्सागुम्बा प्रतितोला २० हजारभन्दा बढीमा बिक्री गरेका थियौँ । तर, यो पटक भने प्रतितोला १२ हजारमै बिक्री गर्न बाध्य भयौँ,’ उनले भने ।

navjiwan hospital

त्यस्तै, यसअघि प्रतिकिलो ३५–४० हजारमा बिक्री हुने वनलसुन यो पटक भने १३ हजार रुपैयाँमै बिक्री गरेको अर्का स्थानीय सन्तोष धामीले जानकारी दिए ।

‘हामीले बनलसुन यसअघि प्रतिकिलो ४० हजारको हाराहारीमा बिक्री गरेका थियौँ’ उनले भने ‘तर, यस वर्ष भने प्रतिकिलो १३ हजारमै बेच्नुप¥यो ।’

वर्सेनी यार्सागुम्बा, वनलसुन जस्ता बहुमूल्य जडिबुटीको उत्पादन घट्दै गएको छ । अनियन्त्रित रूपमा बहन क्षमताभन्दा धेरै ठूलो जनसमुदाय संकलनमा जाने हुँदा वातावरणीय प्रदूषण बढेर यार्साको उत्पादन पछिल्लो समय घट्दै गएको हो ।

जडिबुटी लोप हुँदै गए पनि मूल्य भने निरन्तर घटिरहेको छ । जडिबुटीले उचित मूल्य नपाउँदा यहाँका धेरै स्थानीय विदेश पलायन हुनुपर्ने बाध्यता छ ।

हिउँ पर्ने र पग्लिने अवधिमा अनियमितता, अनियमित र अपरिपक्व यार्साको सङकलन, जलवायु परिवर्तनका असरलगायत कारणले यार्साको उत्पादन घट्दै गएको विज्ञ बताउँछन् ।

यार्सा संकलकहरू वैशाख दोस्रो सातादेखि दुई महिना गाँसबासका सामानसहित हिमाली क्षेत्रका पाटनमा त्रिपाल गाडेर बस्छन् । नेपालमा पछिल्लो दुई दशकयता मात्र यार्साको व्यावसायिक संकलन तथा ओसारपसार सुरु भएको हो ।