बैतडी – बैतडीको एउटा नगरपालिकाको कार्यालय सहित नगरका सबै वडाहरुमा तालाबन्दी गरिएको छ । जिल्लाको पुर्चाैडी नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुमा तालाबन्दी गरिएको हो ।
सरकारले बजेट भाषण मार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पु¥याउने घोषणा गरेको भएपनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले तालाबन्दी गरेका हुन् ।

आफ्ना माग पूरा नहुँदा सम्म तालाबन्दी नखुल्ने लटिनाथ आधारभूत विद्यालय सलेलीगाउँमा कार्यरत बालविकास सहजकर्ता द्रोपती खत्रीले बताइन् ।

यसअघि विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिका ज्ञापन पत्र बुझाएको भएपनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको खत्रीले बताइन् ।
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको भएपनि जिम्मेवार प्रतिनिधिहरु नहुँदा छलफल समेत हुन सकेको छैन् । नगर प्रमुख र उपप्रमुख काठमाडौँमा छन् भने कार्यालय प्रमुख समेत बाहिर रहेको बताइएको छ ।
नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको कुरा जानकारीमा आएको र तत्कालका लागि ताला खोल्न आग्रह गरिएको नगर उपप्रमुख जानकी ऐर बमले बताइन् ।
विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको मागका बिषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने उनले बताइन् ।




















